मोरङ । इटहरीको बालग्राम चोकस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । आइतबार दिउँसो इटहरी उपमहानगरपालिका-१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा सङ्खुवासभाको धर्मदेवी निवासी श्रीमान् श्रीमतीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धर्मदेवी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलिसकेको सवारीसाधनको ठक्करबाट उनीहरू गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार म्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उक्त दुई सवारीसाधनको बिचमा चेप्टिएर दुर्घटनामा परेको हो । दुर्घटनास्थल छेउमै रहेको सीसी क्यामेरा बिग्रिएकोले कुन सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल आसपासमा रहेको अन्य सीसी क्यामेराको सहयोगमा घटनाको अनुसन्धान भइरहेको छ । ।