चारआली । चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि स्थानीय राजनीतिक दलले उम्मेद्वारी दर्ता गराएका छन् ।
खानेपानीको धारा जडित सदस्यहरुबीच नेतृत्व गर्ने बिषयमा तालमेल नहुँदा राजनीतिक दलले उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेतृत्व गर्ने बीचमा दर्बिलो बहस र आवश्यक समन्वय नहुँदा १५ वर्षयता चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता समितिको नेतृत्वका लागि निर्वाचनमा होमिनु परेको हो ।
यसअघि संस्थाले ४ पटक नयाँ नेतृत्व फेरेको छ । तर, जतिपटक नयाँ नेतृत्व परिवर्तन भयो त्यति पटक नै स्थानीय राजनीतिक दलसँग समन्वय र सहमतीय प्रणालीबाट नेतृत्व गर्दै आएको थियो ।
पटकपटक सहमतीय प्रकृयामा राजनीतिक दलका कार्यकर्ताबीच `बोल्ड डिसिजन´गर्न नसक्दा संस्था निर्वाचनमा होमिएको हो । संस्थाले पहिलो पटक चुनावी प्रकृया सामना गर्नुपर्ने भएको हो ।
आम नागरिकको स्वास्थ्यसँग सरोकार राख्ने भएकाले स्थानीय धारावला राजनीतिक दल सम्बद्ध कार्यकर्ताको भेलाले सबै राजनीति दलबाट सहमतीय माध्यमबाट साझा उमेद्वारको रुपमा नेतृत्व प्रदान गर्ने भनी समन्वय पनि गरेका थिए । नेपाली काङ्ग्रेस, नेकपा एमालेले छुट्टाछुट्टै उम्मेद्वारी घोषणा गरेर मनोनयन दर्ता गरेपछि राजन चिमरियालाई नेतृत्व सम्हाल अन्य साना दलहरुको साझा पार्टीले आइतबार मनोनयन दर्ता गरेका छन् ।
केही ठुला दलले साझा रुपमा दिइएको नेतृत्वको नाम स्वीकार नगरेपछि सात राजनीति दलले ब्यवसायी राजन चिमरियाको नेतृत्वमा साझा उम्मेद्बारी दिएका हुन् ।
उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचे बादलको नाम अघि सारिएको छ । अन्य सदस्य धाइजन-१,२,३,४,५,६ र दुहागढी ४,५ र ६ बाट सदस्य दिने भएका छन् ।
अध्यक्षका प्रत्यासी चिमरिया समाजसेबी, उद्योगी एबम् नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष हुन् । सचिव घिमिरे रास्वपाका नेता हुन् । सदस्यहरु डिल्लीराम अधिकारी, चन्द्रकला आङदाम्बे, पुरुषोत्तम सिग्देल, अञ्जु फेवदिन, तेजबहादुर लिम्बु निर्वाचन मैदानमा उत्रेका छन् ।
लेखा संयोजक अर्जुन खनाल र सदस्य टीकाराम रिजाल  रीतादेबी रिजाल रहेका छन् ।
नेपाली काङ्ग्रेसले बालकुमार बिष्टलाई चारआली साना शहरी तथा  खानेपानी सरसफाई उपभोक्ता समितिको नेतृत्वमा उम्मेदवार उठाएको छ । उपाध्यक्षमा दीपा पौडेल, सचीवमा राजेन्द्र रिजाल, कोषाध्यक्ष यमकान्त पौडेललाई मैदानमा उतारेको छ ।
त्यसैगरी सदस्यमा सुकुम्बार मेचे, रम्बा राजबंशी, धनमाया बस्नेत, लक्ष्मी घिमिरे रहेका छन् । लेखा समितिको संयोजकमा मोहन अधिकारी र सदस्यमा हरिप्रसाद रिमाल र जमुना ओलीलाई पार्टीले उम्मेद्वार उठाएको छ ।
नेकपा एमालेले सन्तोष मेचेलाई नेतृत्व गर्न मैदानमा उतारेको छ । उनी मेचीनगर-११ का पुर्व वडाध्यक्ष पनि हुन् । उपाध्यक्षमा पुष्पा गौतम, सचीवमा दामोदर घिमिरे, कोषाध्यक्षमा प्रकाश बराल र सदस्यहरुमा हरि घिमिरे, कुमार भण्डारी, राजेन्द्र कार्की, भागिदार खतिवडा, लीला कार्कीले उमेद्वारी दिएका छन् ।
लेखा संयोजक रेवत दाहाल, सदस्यहरु श्रीप्रसाद पाठक, बिमला मिश्र रहेका छन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धा खुल्ला गरिएको छ । भने उपाध्यक्ष पदमा महिलालाई अनिवार्य गरिएको छ । त्यस्तै साबिक दुहागढीको ४,५ र ६ बाट २ सदस्यीयमध्ये १ जना महिला अनिवार्य, धाइजनको ५ र ६ बाट २ सदस्यीयमध्ये १ जना महिला अनिवार्य र धाइजन १,२,३ र ४ बाट १ सदस्यीय अनिवार्य गरिएको निर्वाचन आयोगद्वारा जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
त्यसैगरी लेखा समितिको संयोजक एक जना र एक जना महिलासहित २ सदस्यीयले लेखा समितिमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।
मनोनयनपछि भोलि ११ बजे दाबी बिरोध र पर्सी मतदान चिन्ह बितरण गर्ने र मङ्सिर १ गते मतदान गर्ने निर्वाचन संयोजक सन्तोष नेउपानेले जानकारी दिए ।