बिर्तामोड । बालकलाई ठक्कर दिएपछि फरार रहेका मोटरसाइकल चालक पक्राउ परेका छन् । सोमवार बिहान झापाको कनकाई नगरपालिका-५ तल्लो चप्रामारीमा ७ बर्षिय बालक सोहन पाठकलाई ठक्कर दिई फरार रहेका कनकाई-५ मुस्लिम टोलका २३ बर्षिय अजत मियालाई प्रहरीले पक्राउ गरेको हो । 

सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको मे ११ प ३३८ नम्बरको मोटर साईकलले बाटो क्रस गर्दै गरेका कनकाई–५ तल्लो चप्रामारीका बिनोद पाठकको छोरा सोहनलाई बाटो क्रस गर्दै गरेको समयमा ठक्कर दिएको थियो । 

स्थानीयले बालक सोहनलाई ठक्कर दिई फरार भएको बारेमा इलाका प्रहरी कार्यालय सुरुङ्गामा खबर गरेका थिए । घाइते पाठकलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा संलग्न  डाक्टरले मृत घोषणा गरेका थिए । खोजतलासका क्रममा  खटिएको प्रहरी टोलीले मियालाई पक्राउ गरेको हो । मोटरसाईकल चालक र मोटरसाईकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।