दमक । झापाको दमकमा लेनदेन विवादपछि छुरा प्रहार हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
झापा जिल्लाको दमक नगरपालिका वडा-६ स्थित नमुना मार्गमा रहेको नमुना सटिङ सुटिङ टेलरमा काम गर्ने दमक-७ का २७ वर्षीय सोनु अहमद छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् ।
लेनदेनको विषयलाई लिएर भएको विवादका क्रममा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-३ का २९ वर्षीय एजात अहमदले सोनुको पेटको बाँया भागमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक रूपमा घाइते सोनुलाई लाईफलाइन अस्पताल दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडको बिएण्सी अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि धरानको घोपा अस्पतालमा पठाइएको छ।
छुरा प्रहारपछि फरार भएका एजात अहमद प्रदेश नं. १-०२-०४५ प ६३१९ नम्बरको स्कुटरमा भाग्ने क्रममा दमक वडा नं. ६ गणतन्त्र चोकमा अनियन्त्रित भई दुर्घटनामा परेका छन्। दुर्घटनाका कारण उनको बाँया खुट्टामा चोट लागेको छ । उनलाई बोल्न सक्ने अवस्थामा निम्स अस्पताल दमकमा प्रहरीले निगरानीमा राखेको छ । उक्त स्कुटर इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।