चारआली । ६ वर्षअघि ओमन पुगेकी झापा मेचीनगरकी बिनादेवी कवरलाई नेपाल ल्याउन उनका छोराले आर्थिक सहयोगको अपिल गरेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकाले अचेत अवस्थामा रहेकी आमालाई नेपालसम्म ल्याउन आर्थिक सहयोग गरिदिन पत्रकारहरुसमक्ष अपिल गरेका हुन् ।
बिहीबार प्रेस क्लब मेचीनगरको हलमा पत्रकारहरुसमक्ष बिनादेबिका छोरा सन्जय कवरले आर्थिक र समन्वयात्मक सहयोग गरेर नेपालसम्म ल्याइदिन आग्रह गरेका थिए । बिनादेबी झापाको मेचीनगर-१० स्थित कवर वस्तीका चिनीलाल कवरकी श्रीमती हुन् ।
चिनीलाल धुलाबारीमा नै सामान्य ज्यालादारी काम गर्छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज टिस्टेटमा मजदुरी गर्छन् । कान्छो छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कवरको विवाह भइसकेको छ ।
४५ वर्षीया बिनादेवी परिवारको आर्थिक अवस्था सुधार्न बिस २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन मुलुक गएकी थिइन् । बिनादेबीको दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना प्यारालाइसिस भएपछि असफलमात्रै भएन, डेढबर्षदेखि शरीरको अंग नचल्ने बिरामी भएपछि त्यहाँको सरकारी `सुल्तान कावुस्स सलाह अस्पताल´मा आइसुलेसनमै छन् ।
आमालाई घर ल्याउन करिव १४ लाखबढी खर्च लाग्छ भएपछि सन्जयले आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका हुन् । आर्थिक सहयोगका लागि ग्लोबल बैंक धुलाबारी शाखामा सन्जय कवरको खाता नम्बर 02307010137102 रहेको छ ।
दैनिक मजदुर गरेर गुजारा चलाउदै आएका छौं । आर्थिक अवस्था कमजोर छ । यत्रो पैसा कहाँबाट ल्याउनु, सन्जयले भने,`जस्तोसुकै अवस्था भएपनी मेरी जन्मदिने आमाको हेरचाह आफै र आफ्नै देशमा गर्छु । त्यसैले आमालाई विदेशबाट ल्याउन सबैसँग अनुरोध गरेको हुँ ।´
बिनादेबी कसरी पुगिन् ओमन:
२०७५ सालको भदौमा स्थानीय चिनेको मेचीनगर-६ का गोरे उपनामले चिनिने ब्यक्तीसँगको सहकार्यमा कुवेत पुगेकी थिइन् । १४ महिना कुवेतमा काम गरेपछि राम्रो सुबिधा र आर्थिक जोह गर्न सकिने भएपछि ओमन पुगेकी थिइन् । उनले घरखर्च भनेर पैसा अलिअलि भएपनि पठाएको पनि थियो । उनका छोराले भने, `कुनै रोग पनि थिएन। एक्कासी २०७९ माघ २३ गते अचानक विरामी भएको खवर आयो । परिवारले चासो दिएपनी आर्थिक अभाव भएपछी आमाको सम्झनामै दिन बिताउँदै आएको छु।´
मेचीनगर नगरपालिका कार्यालयमा रहेको सामी संस्थाकी कर्मचारी गीता खरेलको समन्वयमा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलसँग समस्याको बारेमा जानकारी गराएको बताइन् ।
नेपाल सरकारको खर्चमा ल्याउन सम्बन्धित मन्त्रालयलाई जानकारी गराएको बताएपनी हालसम्म कार्यान्वयन नभएको उनको भनाइ थियो ।
धुलाबारीका स्थानीय समाजसेवी धमेन्द्र खडकाले पत्रकार सम्मेलनमै ओमनको नेपाली दुतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यसँग भिडियो सम्पर्क गरी बिनादेबिको बारेमा थप जानकारी गराएका थिए । कन्सुलर आचार्यले ओमनको मस्कट शहरदेखि एक हजार १४ किलोमिटर टाडा रहेको सरकारी सुल्तान कावुस्स सलाह अस्पतालमा बिनादेवी कवरको उपचार भइरहेको र उनलाई नेपालसम्म पुर्याउन करिब १४ लाख लाग्ने बताए । नेपाल ल्याउन मेडिकल सर्पोटको टिमसहित दुईवटा जहाजमा परिवर्तन गर्नुपर्ने भएकाले उक्त खर्च आउने उनको भनाई थियो ।
कन्सुलर आचार्यले बिनादेबीलाई गरिने सबै उपचार गरिसकेको, अचेत अवस्थामा रहेको, चेतना छ, बोली नआएको पनि जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा विरामी बिनाकी दिदी बुल्ली कवर, जेठा छोरा सञ्जय, सामीकी कर्मचारी गीता खरेल, समाजसेवी धमेन्द्र खड्का लगायत थिए ।