बिर्तामोड । हात्तीको उपद्रो नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले झापाको बिर्तामोडमा ९ किलोमिटरको वडा सोलार ईलेक्ट्रिक फेन्सिङ तारवार निर्माणको काम सुरु गरेको छ।
कोषको १ करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो । बिर्तामोड नम्बर-६ को देउनीया पुलदेखि वडा नम्बर-८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ ।
तारबार निर्माणका लागि आयोजित कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार (आज) तारबारको पाइप गाडेर शिलान्यास गरेकी थिइन् ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताइन् । उनले बढ्दो मानवीय क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा राखेको भन्दै हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न पनि स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नु पर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मानववस्तीमा हात्ती छिरेर असर गर्दै आएको लामो समयदेखिको बाध्यतालाई यसले अन्त्य गर्ने बताए । उनले यति प्रयाप्त नभएपनि आगामी दिनमा थप व्यवस्थित गर्दै लैजानुपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा बोल्दै राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगत कुमार राई, संरक्षण कोषका कोशी प्रदेश प्रमुख विरेन्द्र गौतम लगायतले बोलेका थिए ।
बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको थियो । उनले अहिलेसम्म झापाको जलथल र चाराआलीमा क्षेत्रसमेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार भइसकेको जानकारी दिए ।