झापा । झापाको अर्जुनधारा-४ बाट एक थान भरुवा बन्दुक र चोरीका मालसामानसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई गएराती १० बजेको समयमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अर्जुनधारा-४ का १९ बर्षिय आदित्य लिम्बु, सोही स्थानका २२ बर्षिय छिरिङ तामाङ र २१ बर्षिय निखिल तामाङ रहेका छन् ।
आदित्यको साथबाट चाँदीको सिक्री-१ थान, नेपाल टेलीकमको ५० दरको रिचार्ज कार्ड १९ थानसहित फेला परेको, छिरिङको साथबाट चाँदीको औठी २ थान र पाउजु २ थान, सिक्री १ थान, एनसेल कम्पनीको ५० दरको रिचार्ज कार्ड ५ थान फेला परेको र निखिलको साथबाट चाँदीको सिक्री १ थान फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी चोरी गर्दा प्रयोग भएको खुकुरी एउटा किराना पसलबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले शुक्रवार राती १०ः१० बजेको समयमा अर्जुनधारा–७ मिलडाँडा बस्ने इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई नगदलगायत सरसामानहरु चोरी गरेको भन्दै शनिवार प्रहरी चौकी शनिश्चरेमा जानकारी प्राप्त भएको थियो ।
उक्त जानकारी प्राप्त हुना साथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास शुरु गरेको थियो ।
खोजी गर्ने क्रममा गर्ने क्रममा शनिवार राती १०ः३० बजेको समयमा अर्जुनधारा-४ देवान चोक उनीहरुलाई शंकाष्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । नियन्त्रण गरिएका उनीहरुको अनुसन्धान गर्ने क्रममा छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक समेत फेला थियो ।
उनीहरुलाई बरामद गरिएका सामानसहित इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।