ओखलढुंगा । ओखलढुंगामा आफूले जन्माएको दुई महिनाको शिशु हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। सिद्धिचरण नगरपालिका- ४ चार्खु बस्ने २६ वर्षीया दीपकुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो। गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका-८ बाघखोर जंगलमा शिशुको शव भेटिएको थियो। स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा मृतक शिशु सिद्धिचरण नगरपालिका- ४ चाखु बस्ने युवराज राई र उनकी श्रीमती दीपकुमारी राईको छोरा हिमाल राई रहेको खुलेपछि प्रहरीले सोही दिन दीपकुमारीलाई प्रक्राउ गरी अनुसन्धान थालेको थियो।
प्रहरीसमक्षको बयानमा आरोपित राईले कीटनाशक औषधी खुवाई शिशु हत्या गरी जंगलमा फालिदिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विजय कार्कीले बताए। जन्मेदेखि नै रोइराख्ने, दिक्क लगाउने गरेकोले हत्या गरेको भनी बयान दिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ।
मृतक शिशुको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।