झापा । झापाको दक्षिणी गाउँपालिकाको सडकमा मिक्सगिट्टी  हाल्दा जनप्रतिनिधि र कर्मचारीले अनियमिततापछि अख्तियारमा उजुरी परेको छ ।

कचनकवल गाउँपालिकाले खाल्डाखुल्डी सडक मर्मत गर्न
गत आवमा २० लाख रुपैयाँ छुट्याएको थियो । उक्त बाटो मर्मतमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
कचनकवल गाउँपालिका-३ का वडाध्यक्ष ग्यास अमल मियाँको संयोजन, रञ्जित लिम्बू, लेखनाथ खत्री वडाध्यक्षद्वय र पालिका कर्मचारीहरू साजन राई र केशव मैनाली सदस्य रहेको समितिले बर्खाको समयमा सडक मर्मत सम्भारका लागि मिक्स गिट्टी हाल्ने कार्यमा अनियमितता भएको शङ्का उब्जिएको भन्दै अख्तियारमा उजुरी परेको हो।
पालिकाले पहिले १० लाख खर्च गर्ने भनेता पनि समिति बनाएपछि २० लाख बराबरको खर्च गर्ने गरी शीर्षक छुट्टाइरहेको पाइएको थियो । प्रत्येक वडालाई छुट्टाछुट्टै रकम उपलब्ध गराइ काम गराउन भनी वडाध्यक्षहरूले सल्लाह दिँदा पालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले वडाध्यक्ष मियाँको संयोजनमा पालिका भरको सडकमा गिट्टी हाल्ने कामको जिम्मेवारी दिएका थिए।
आजको मिति सम्मको स्थलगत निरीक्षण गर्दा जम्मा करिब ३०० हाराहारी ट्याक्टर मात्र गिट्टी हालिएको पाइएको पालिकाका एक जनप्रतिनिधिले बताए ।
उपभोक्ता समितिमा संयोजक अजमालले आफ्नो भाइ पैयुन मियालाई नै अध्यक्ष बनाएको र अन्य सदस्यहरू वडाध्यक्ष द्वय रञ्जित र लेखनाथको जानकारी बिना नै विभिन्न वडामा गिट्टी हालिएको जानकारी प्राप्त भएको छ। यस विषयमा विवाद आउन सुरु हुँदा आफूसँग सरसल्लाह नगरेको र मनोमानी गरेको भन्दै समितिबाट राजीनामा पनि दिन खोजेको एक वडाध्यक्षले बताए।
पालिकाका एक कर्मचारीका अनुसार गिट्टी रकम निकासाको लागि पालिकामा फाइल पुर्‍याएपछि यो कुरा बाहिर आएको हो।
स्थानीय सडकमा हालिएको भन्दा बढी रकम बुझ्न खोजेको भन्ने हल्ला पश्चात् सो विषयको अख्तियारमा उजुरी गरिएको हल्ला आएपछि फाइल पालिकाबाट फिर्ता निकालिएको स्रोतको दाबी छ।
वडाध्यक्षहरूलाई जिम्मा दिई बजेट छुट्टाउन माग गर्दा, पालिका अध्यक्षले वडा नम्बर-३ को अध्यक्षको संयोजनमा समिति बनाएर सबै वार्डमा काम गराउन निर्देशन थिए। तर, उपभोक्ता समितिका सदस्यहरूले २० लाख बराबरको गिट्टी नहालेको समिति सदस्य मध्येका एक वडाध्यक्षले बताए। उनका अनुसार वडा सदस्यहरू बारम्बार बोली फेर्ने र हस्ताक्षर गरेको कागज विपरीत पनि बोल्ने गरेको छन्।
यो अनियमितताको छानबिन गर्न र कानुनी उपचारका लागि यथार्थ छानबिन गरिनुपर्ने उजुरीमा माग गरिएको छ। मिक्स गिट्टीका लागि विनियोजित बजेट रोक्का गर्न समेत अनुरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी निवेदन समेत दर्ता भएको छ। पालिकाबाट पनि हाल उपाध्यक्ष , इन्जिनियर लगायतको टोलीले स्थलगत थप निरीक्षण गरिरहेको स्थानीयले बताएका छन्।
वडाध्यक्षले पालिका सन्देशसँग गरिएको कुराकानीमा आफ्नो बचाउँ गर्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन्।