काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हालेको हो ।
प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्चअधिकारीहरूले स्वागत गरे । प्रधानमन्त्री ओलीको पद बहाली–निर्णयबारे उनले सचिवालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई यही आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।



















































