इलाम । पहिचानवादीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुधबार तेह्रथुम सदरमुकाम म्याङलुङको जिरिखिम्ती बजारमा कालो झण्डा देखाएका छन् । कोशी नामले आम प्रदेशवासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने भन्दै प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिले पुनः नामाङ्कनको माग राख्दै आन्दोलन गर्दै आएको छ ।
आन्दोलनकै क्रममा तेह्रथुम पुगेका मुख्यमन्त्री कार्कीविरुद्ध कालो झण्डा प्रदर्शन गर्नुको साथै ‘हिक्मत कार्की मुर्दावाद’, ‘पहिचान विरोधी होसियार’, ‘कोशी नाम खारेज गर’ लगायतका नाराजुलुस गर्दै विरोध प्रदर्शन गरेका हुन् । कालो झण्डा प्रदर्शनको क्रममा केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभामा लाजेहाङ फोर्सको कमाण्डर धनेन्द्र सुब्बाले लगायतले सम्बोधन गरेका थिए । वक्ताहरूले कोशी नाम खारेजी नभएसम्म आन्दोलन बढ्दै जाने बताए । कोशी नाम राख्न हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद र प्रदेशमा साम्प्रदायिक अभिव्यक्ति दिने केपी ओली, योगेश भट्टराई र महेश बस्नेत विरुद्ध प्रदर्शन जारी रहेको बताएका छन् ।
कोशी नाम खारेजी गरेर पुनः नामाङ्कन नभए आगामी मंसिरमा विराटनगरमा वृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन थाल्ने सयुक्त संघर्ष समितिको ताप्लेजुङ बैठकले निर्णय गरेर तयारी थालेको छ ।
आन्दोलनमा राई, लिम्बू, शेर्पा लगायतका सामुदायिक साझा संस्थाहरू, नेपाल आदिवासी जनजाति महासंघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नाउपा, दुबै सजपा, पहिचानवादी मोर्चा, माओवादी केन्द्र सम्बद्ध जातीय मोर्चाहरु सहित ४१ वटा संगठनहरु सहभागी रहेका छन् ।
कोशी नाम खारेजीको आन्दोलनमा ४२ वर्षीय युवा पदम लिम्बू (लाजेहाङ)को मृत्यु भएको छ भने गजेन्द्र फागोको घुँडामा प्रहरीले चलाएको गोली लागी हालसम्म उपचारत छन् । आशीष लिम्बू एक वर्षदेखि इलामको जेलमा छन् भने १५० बढी घाइते, २५० बढीलाई झुटा मुदद्दा लगाइएको संयुक्त संघर्ष समितिको घटक संस्था किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले बताए ।
तेस्रो पटक मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राम राना मगरलाई वार्ता समितिको संयोजक बनाएपछि कोशी नामको प्रस्तावक रानासँग नभएर मुख्यमन्त्रीसँग मात्र वार्ता हुनसक्ने संयुक्त संघर्ष समितिले जनाइसकेको छ ।



















































