काँकरभिट्टा । दसौं अन्तर्राष्ट्रिय योग दिवशको सन्दर्भ पारेर नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् ।

शुक्रबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची पुलमा आयोजना गरेको योग शिविरमा दुवै देशका सीमा रक्षक सहभागी भएका हुन् ।

पुलमा म्याट ओछ्याएर शुरु गरिएको योग अभ्यासमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) पानीटंकीको बटालियन नै सामेल भएको थियो ।

२ नं. गण हेडक्वाटर भद्रपुरका गणपति कविन्द्र राईका अनुसार अभ्यासमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ३० जना सुरक्षाकर्मीले भाग लिएका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी मिम लामा लगायत सुरक्षा अधिकारी र अभ्यासका क्रममा सशस्त्र प्रहरी बलको २ नं. गणका गणपति राईको सहभागिता रहेको थियो ।