बिर्तामोड  नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले झापामा छैठौ जिल्ला भेला गर्ने भएको छ । बैशाख २२ गते बिर्तामोडस्थित सेन्टरको सभा हलमा जिल्ला भेला हुन लागेको हो ।  जनस्तरबाट चौतर्फी दवाबकै कारण संगठनलाई दर्विलो बनाउँदै जनताका समस्याको सामाधान गर्ने पुनर्गठन गर्न लागेको हो ।
बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रका झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए।
धेरै वर्षदेखि वाइसीएल शिथिल भएको स्वीकार्दै उनले भने ‘माओवादी आफै एक्लै उभिन सक्छ सक्दैन भन्ने गम्भीर प्रश्न उठेको छ,त्यसलाई कसरी उठाउने भन्ने कुरा वाईसिएल नेपाललाई झापामा फेरि उर्जाशील बनाउने उदेश्य छ’।
जिल्ला भेलाको उद्घाटन प्रदेश इन्चार्ज हरिबोल गजुरेलले गर्ने कार्यक्रम तय भएको आचार्यले बताए। माओवादी केन्द्रका उप-महासचिव अजम्बर राई साथै माओवादी नेताहरु इन्द्र आङ्बो, रञ्जित तामाङ, शुसिला घिमिरे लगायतको आतिथ्यता रहनेछ।
वाईसिएलको जिल्ला भेलाले ७५ सदस्यीय नयाँ कार्यसमिति बनाउने लक्ष्य लिएको छ। जिल्ला भेलाकै दिन वाइसिएलले आयोजना गरेको झापा जिल्ला खुल्ला नृत्य प्रतियोगिताको फाइनल प्रतिष्पर्धा समेत हुने वाईसिएलका जिल्ला संयोजक राजु दर्नाले बताए । पुष्प खड्काले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए।