झापा ।  नेपाली चिया पैठारीका क्रममा भारतले पाँचदिनयता ढुवानीका साधान रोकिदिएपछी पुर्वका चिया उद्यमी र ब्यवसायी संकटमा परेका छन् । पूर्वीनाका काँकरभिट्टाबाट जाँचपास भएर भारतको पानीट्यान्की पुगेका १८ ट्रक तयारी चिया भारतले विगत पाँच दिनदेखि रोकेपछि उद्यमी ब्यवसायी संकटमा परेका हुन्  ।
भारतीय सिमाबर्ती क्षेत्रमा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको हो । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिएको बताएका छन् । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीट्याङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए ।
भारतले शतप्रतिशत स्याम्पलिङ गर्नुपर्ने प्रावधान राखेसँंगै भारततर्फ निकासी हुन लागेका चिया बाटोमै अलपत्र परेको हो ।भारतले विभिन्न समयमा बहाना बनाउँदै नेपाली चिया निकासीमा रोक लगाएको बताइएको छ । उनका अनुसार भारतीय पक्षलाई एउटा सवारीबाट दैनिक चार हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । चियाको गोदामसमेत नहुँदा बाटोमै गाडी रोकेर राख्नु परेको छ ।
चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीट्याङ्कीस्थित भारतीय स्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग-अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो ।
भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेर समस्या भएको हो । भारतमा अलपत्र ट्रकमध्ये नेपाल चिया विकास निगमको ६ वटा  अन्य १२ ट्रक हिमालयन रेन्जर तथा चिया उद्योग लगायतको रहेको बताइएको छ ।
सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकरभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन ।
भारतको पानीट्याङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।

लामो समय चिया गाडीमै राख्नु पर्ने भएकाले चिया बिग्रिने सम्भावना धेरै हुने ब्यवसायीहरुको भनाइ छ । त्रिपालले बेरेर चिया राख्नु परेकोले गुम्सिएर चिया बिग्रने डर छ, यसले ब्यवसायीलााई ठूलो घाटा पुर्याउनु छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारले नयाँ नियम लागू गरेसंँगै केही समस्या आएको बताएका छन् ।
रेग्मीले भने-चिया पैठारीमा रोक लगाएको होइन, शतप्रतिशत परीक्षण बिना निकासी गर्न नदिएकाले समस्या आएको हो । विगतमा भारतीय पक्षले नेपालबाट गएका चिया मध्ये केही प्रतिशतको मात्रै नमूना परीक्षण गर्दा अरुलाई छिर्न दिने गरेको थियो । अहिले नियम परिवर्तन गरेर सबै परीक्षण गर्नुपर्ने नियम बनाएको छ ।
चियामा देखिएको समस्यालाई समाधान गर्नका लागि स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको रेग्मीको भनाई छ । उद्योग, वाणिज्य, परराष्ट्र मन्त्रालयका साथै भन्सार कार्यालयबाट समेत भारतीय पक्षसँंग कुरा भइरहेको र विगतका नियमलाई नै लागू गर्ने गरी प्रयास भइरहेको उनले बताए ।
उनले भारतीय पक्षको नयाँ नियमका कारण निकासी शुल्क बढ्ने बताए । निकासी शुल्क बढ्दा किसानलाई भने त्यसको प्रत्यक्ष असर पर्ने देखिएको छ । यसले नेपाली चिया ब्यवसायी तथा किसानलाई निरुत्साहित बनाउने गरेको ब्यवसायीहरुको भनाई छ ।