झापा । बिहीबार आजदेखि शुरु भएको एसईई परीक्षामा झापाबाट १५ हजार ८२२ जना सहभागी भएको जनाएको छ । शिक्षा बिकास तथा समन्वय इकाई झापाका अनुसार परीक्षाका लागि ५७ वटा केन्द्रमा ८ हजार १४५ छात्रा र ७ हजार ६७७ जना छात्रले झापाबाट एसइईको परीक्षा दिएका छन् ।

१ सय ६८ वटा सामुदायिक बिद्यालय र १ सय १९ वटा संस्थागत बिद्यालयका बिद्यार्थी सहभागी रहने शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख राजकुमार विकले जानकारी दिए । प्राबिधिक धारतर्फका छात्रा २ सय ३७ र छात्र ३ सय १३ गरी जम्मा ५ सय ५० जना, ग्रेडबृद्धि तर्फबा छात्रा १ सय ८३ र छात्र १ सय ३२ गरी जम्मा ३ सय १५ जना, खुल्ला शिक्षातर्फका छात्रा ८९ र छात्र ६६ गरी जम्मा १ सय ५५ जना, जेल र हिरासतका ३ जना बिद्यार्थीले एसईई परीक्षा दिने इकाई प्रमुख विकले जानकारी बताएका छन् । 

जिल्ला कारागार झापामा रहेका बिरेन्द्र माबिका एक जना छात्र र श्री माबि बुद्धशान्तिका एक जना छात्र र मेचीनगरको कबिशिरोमणि माबिका हिरासतमा रहेका एक जना छात्रले पनि परीक्षा लेख्ने उनले बताए । त्यस्तै झापाबाट यस बर्षको एसईई परीक्षामा एक जना दृष्टि बिहिनसहित शारीरिक अपङ्गता भएका पनि सहभागी रहेको उनले बताए । 

खुल्ला शिक्षातर्फ देबी माबिमा अध्ययनरत ३५ जनाले अर्जुनधारा-५ स्थित भानु माबि र हिमालय माबि दमकमा अध्ययनरत १२० जनाले मंगलमाया माबि कमल गाउँपालिकाबाट परीक्षा दिने इकाई प्रमुख विकले बताएका छन् । 

नियमिततर्फ छात्रा ७ हजार ७ सय २५, छात्र ७ हजार २३२ गरी जम्मा १४ हजार ९५७, प्राबिधिकधार तर्फका छात्रा २३७ र छात्र ३१३ गरी जम्मा ५५० जना र ग्रेडबृद्धि तर्फका छात्रा १८३ र छात्र १३२ गरी जम्मा ३१५ जनाले एसइई परीक्षा दिने शिक्षा बिकास तथा समन्वय इकाई झापाले जनाएको छ । 

यस बर्षको एसईई परीक्षामा देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको छ ।  त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिँदै छन् । यो वर्षदेखि विद्यार्थीले न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरिएको छ ।