मेचीनगर । झापाको मेचीनगरको एउटा वडाले जेष्ठ नागरिकको स्वास्थ्योपचार नि:शुल्क गर्ने घोषणा गरेको छ । ६५ वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्योपचार गरिदिने मंगलबार मेचीनगर-९ को वडा कार्यालयले घोषणा गरेको हो ।
फागुन २७ गतेदेखि जेष्ठ नागरिक बुबा आमाहरुको स्वास्थ्य परिक्षण सेवा सुचारु गर्न लागिएको मेचीनगर-९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए । उनले जेष्ठ नागरिक आमा-बुबामाँझ स्वास्थ्यको पहुँच सहज रुपमा पुर्याउने उद्देश्यले स्थानीय आम्दा मेची अस्पताल धुलाबारीसँग सहकार्य भइसकेको जानकारी दिए ।
जेष्ठ नागरिकको स्वास्थ्य उपचार र औषधि नि:शुल्क गराउने योजनाका साथ कार्यालयले २ लाख बजेट छुट्याएको थियो । उक्त अभियान आगामी फागुन २७ गतेदेखि १० दिनसम्म सञ्चालन हुने अध्यक्ष तामाङको भनाई छ । वडा कार्यालयले ल्याएको उक्त योजनालाई साथ दिन करिब १ लाख ९५ हजार मुल्य बराबरको औषधि नि:शुल्क ब्यवस्था गर्ने आम्दा मेची अस्पतालले प्रतिबद्धता जनाएको थियोे ।
वडा कार्यालयको सिफारिसमा ६५ बर्षमाथिका सबै जेष्ठ नागरिकलाई नि:शुल्क सेवा दिन तयार रहेको आम्दा मेची अस्पताल प्रशासन प्रमुख किरण निरौलाले बताए ।
उक्त कार्यक्रममा वडाध्यक्ष कञ्चनकुमार तामाङ, वडासदस्यहरु राजन खड्का, धनकुमार श्रेष्ठ वडासचिव सुरेश घिमिरे तथा आम्दा मेची अस्पतालका प्रमुख डाक्टर पोषणरमण त्रिपाठी, प्रशासन प्रमुख किरण निरौला र सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।