झापा । जग्गादाता डोमालाल राजवंशीको परिवारलाई उपेक्षा गरिएको भन्दै दाता परिवार र राजवंशी समुदायले झापा गोल्डकप र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

झापा गोल्डकपको सचिवालयमा पुगेर उनीहरूले चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने, डोमालाल राजवंशीले दिएको जग्गामा करोडौँको बजेटमा  प्रतियोगिता गराइरहँदा  दाता परिवारको हालको अवस्थालाई मनन गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ  उपलब्ध गराउनु पर्ने, डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित  गोल्डकप  आयोजक समिति,संरक्षण  समितिलगायतका  समितिहरूमा दाता परिवारका एक जना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरूकै स्वामित्वमा हस्तान्तरण गरिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

दाता परिवारका तर्फबाट डोमालालकी छोरी ८० वर्षीया सम्पत्ति राजवंशी, नातिनी बुहारी ललिता राजवंशी, राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी, उपाध्यक्ष रुपा राजवंशी, सचिव इन्द्रसिंह राजवंशी, सहसचिव अन्जु राजवंशी, राजवंशी विकास समिति बिर्तामोडका अध्यक्ष सिरतलाल राजवंशी, सचिव बालकृष्ण राजवंशीलगायतले सो ज्ञापनपत्र  झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र महासचिव  गजेन्द्र पौडेललाई बुझाएका थिए । ती मागहरूप्रति  आफूहरू सकारात्मक रहेको  प्रतिक्रिया दिँदै अध्यक्ष बस्नेतले डोमालालको शालिक निर्माण गर्नका लागि अर्डर गरिसकेको बताए ।

उनले आफ्नै कार्यकालमा सो शालिक स्थापना गरिने जानकारी दिए । त्यस्तै गोल्डकपबाट डोमालालको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएकोमा  बचत भएमा त्यसलाई थपेर एक लाखसम्म सहयोग गर्ने आश्वासन दिए । त्यस्तै डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित  गोल्डकप  आयोजक समिति,संरक्षण  समितिलगायतका  समितिहरूमा दाता परिवारका एक जना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने मागप्रति पनि आफूहरू  सकारात्मक रहेको उनको भनाई  थियो । 

सोही मागसहितको ज्ञापनपत्र बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईँलाई पनि बुझाइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।  राजवंशीका अनुसार नगर प्रमुख प्रसाईँले ती मागका सम्बन्धमा कार्यपालिकाको बैठकमा छलफल गराउने  आश्वासन दिएकी छन् ।  करिब १३ विगाह जग्गा दान दिएका डोमालाल राजवंशीको परिवारको अवस्था अहिले अत्यन्त नाजुक रहेको छ ।  डोमालाल राजवंशी रंगशालामा यही फागुन १९ देखि छैटौँ झापा गोल्डकप हुँदैछ ।