झापा । झापामा संचालित सार्वजनिक र निजी बिद्यालयले विद्यार्थीको मौलिक अधिकार हनन गरेको पाइएको छ ।
१० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने नियमलाई समेत उल्लंघन गरेको पाइएकाे छ । स्थानीय तहलाई प्रत्येक बिद्यालयले छात्रबृति बिवरण बुझाउनु पर्ने नियम भएपनि समयमा बिवरण नबुझाएकाे र बुझाएका बिद्यालयले समेत झुटाे बिवरण पेश गरेकाे अनेरास्वबियु झापाका अध्यक्ष बलराम गिरीले बताए ।
गिरीले तत्काल अनुगमन गर्न माग गर्दै झापाका १५ वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेकाे बताए । शिक्षा क्षेत्र सुधार तथा संविधानमा उल्लेख भएका मौलिक अधिकार कार्यान्वयन अनेरास्वबियुले गर्न माग गरेकाे छ ।
शिक्षा क्षेत्रमा देखिएका बिकृति, बिसङ्गतिकाे अन्त्य गर्न माग राख्दै झापामा १५ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने अनेरास्वबियुकाे याेजना रहेकाे छ ।
अनेरास्वियुका जिल्ला इन्चार्ज राेशन लामा, जिल्ला अध्यक्ष बलराम गिरीसहितकाे बिद्यार्थीकाे टाेलीले स्थानीय तहकाे शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा माध्यमिक तहसम्मकाे शिक्षा निशुल्क गर्नुपर्ने, निजी शैक्षिक सस्थाले दिएकाे १० प्रतिशत छात्रबृतिकाे वितरण प्रभावकारी बनाइनुपर्ने, बिभिन्न बिद्यालयमा फरक शिक्षाका नाममा शुल्क असुल्ने प्रवृति बढेकाे भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरिएकाे छ ।



















































