झापा । झापामा सञ्चालित मेची आँखा अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिष्ठित पुरस्कार अवार्ड प्राप्त गर्दै नेपालको स्वास्थ्य क्षेत्रको साख अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएका छन्। सामुदायिक आँखा स्वास्थ्य सेवामा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. पुरुषोत्तम जोशीलाई गोल्डन अर्वाड, आउटरिच कोर्डिनेटर कविता कार्की र नेत्र अधिकृत प्रभा राउतलाई सिल्भर अवार्डबाट सम्मान गरिएको हो ।
भारतको पश्चिम बंगालस्थित कोलकातामा रहेको न्यू टाउन कन्भेन्सन सेन्टरमा सेप्टेम्बर २४ देखि २७ सम्म आयोजित एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिस्ट्स अफ इन्डियाको २५औँ अन्तर्राष्ट्रिय भेला तथा १६औँ वार्षिक सम्मेलनका अवसरमा नेपालबाट सहभागी हुने मेची आँखा अस्पतालका तीन जना चिकित्सकहरू एकैसाथ सम्मानित भएका हुन् । भव्य समारोहका प्रमुख अतिथि भारतका पूर्व राष्ट्रपति रामनाथ कोविन्द र विशिष्ट अतिथि नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादवले अवार्डसहित सम्मान गरेका थिए ।
लामो समयदेखि नेपाल र समग्र भारतीय उपमहाद्वीपको आँखा स्वास्थ्य सेवामा समर्पित रहँदै आएका मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. पुरुषोत्तम जोशीलाई सम्मेलनकै सबैभन्दा गरिमामय पुरस्कारमध्येको गोल्डेन आई एसीओआईएन अवार्ड’ (स्वर्ण नेत्र एसीओआईएन सम्मान) बाट विभूषित गरिएको थियो । त्यस्तै सामुदायिक आँखा स्वास्थ्य सेवालाई समाजको तल्लो तहसम्म विस्तार गर्न, दूरदराजका नागरिकको पहुँच बढाउन र अस्पतालका बाह्य कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्य भूमिका खेल्दै आउनुभएकी मेची आँखा अस्पतालकी आउटरिच कोर्डिनेटर कविता कार्की र नेत्र अधिकृत राउतलाई अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित (एसीओआईएन सचिवस्तरीय रजत सम्मान) प्रदान गरिएको हो । सामुदायिक आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उनको निरन्तरको योगदान, क्लिनिकल दक्षता र बिरामीप्रतिको उत्तरदायित्वपूर्ण सक्रियताको कदर गर्दै अस्पतालकै तर्फबाट तेस्रो व्यक्तित्वका रूपमा उनलाई सम्मानित गरिएको हो ।
समारोहमा राष्ट्रिय अध्यक्ष डा. अवाध दुवे, राष्ट्रिय अध्यक्ष निर्वाचित मेजर जनरल प्रा. जेकीस परिहार, राष्ट्रिय उपाध्यक्ष डा. एस के रुङ्टा, मानार्थ राष्ट्रिय संस्थापक महासचिव प्रा. स्वापान के समन्त, वैज्ञानिक समितिका अध्यक्ष डा. सतान्शु मथुर, अवार्ड कमिटीका अध्यक्ष डा. प्रभिन वसिस्ट, राष्ट्रिय कोषाध्यक्ष डा. सुदिपा देई लगायतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सा पदाधिकारीहरू विशिष्ट उपस्थिति रहेको थियो । भारतसहित बंगलादेश, भूटान, जर्मनी, कम्बोडिया, ओमान, श्रीलंका र नेपाल गरी ८ वटा देशका १६ सय आँखा बिशेषज्ञ चिकित्सक सदस्यहरुमध्ये अधिकांश चिकित्सकहरुको सहभागिता रहेको थियो । यसै क्रममा मेची आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पाएको यो ठूलो सफलताप्रति अस्पताल व्यवस्थापन समितिले गौरव व्यक्त गरेको छ। मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित पुरस्कारबाट विभूषित हुनुभएका प्रा. डा. जोशी, कोर्डिनेटर कार्की र नेत्र अधिकृत राउत तीनै जनालाई अस्पताल परिवार र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष गुरुङले उक्त सम्मानले अस्पतालको सेवा प्रवाहको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा प्रमाणित गरेको र आगामी दिनमा सामुदायिक सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र पहुँचयोग्य बनाउन सम्पूर्ण टोलीलाई थप हौसला र जिम्मेवारी थपेको उल्लेख गरेका छन् । झापाको बिर्तामोडमा मुख्य अस्पतालरहेको मेची आँखा अस्पतालले झापासहित विभिन्न जिल्लामा ८ वटा शाखा अस्पताल विस्तार गर्दै पूर्वी नेपालसहित भारतको पश्चिम बंगाल, बिहार र भुटानलगायत देशका नागरिकहरुलाई अत्याधुनिक उपकरणबाट सर्वसुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।





