मेचीनगर । जेसिभीले विद्युतीय पोलको नाङ्गो तार चुँडाएर भागेपछी न्यूज २४ टेलिभिजनका झापा प्रतिनिधि पत्रकार युवराज आचार्य र उनका बुवा दुर्घटनामा परेका छन् । पत्रकार आचार्य सवार मोटरसाइकलको चक्काभित्र चुँडिएको नाङ्गो तार वेरिएको थियो । नाङ्गो तार पस्ने बित्तिकै आचार्य र उनका कालोपत्र बाटोमै लडेका थिए । यो घटना हो मेचीनगर–४ स्थित पाथीभरा टोलको ।
जेसिभि आउने-जाने क्रममा अनियन्त्रित भइ सडकछेउको तीन वटा विद्युत पोल र जडित विद्युत तार बिहान ८:३० बजे चुँडाएर लतार्दै भागेको थियो । नाङ्गो तार जोखिमपूर्ण अवस्था देखेर स्थानीयले विद्युत प्राधिकरण धुलाबारी सेवा केन्द्रमा जानकारी गराएका थिए ।
तत्काल प्राधिकरणले उक्त क्षेत्रमा रहेको ट्रान्सर्फमरबाट विद्युत प्रवाह कटौती गरेर सम्भाबित दुर्घटनाबाट जोगाएको थियोे । प्राधिकरणले तत्काल करेन्ट प्रवाह काटेपनि नाङ्गो तार सडकमै रहँदा मोटरसाइकलमा यात्रा गर्दा पत्रकार र उनका बुवा दुर्घटनामा परेका हुन् । पत्रकार आचार्यले जेसिभीको चरम लापरबाही र विद्युत प्राधिकरणले वेवस्ता गर्दा मोटरसाइकलसहित दुर्घटनामा परेको बताए । गल्ती जेसीभीले गरेपनि पोलको तार चुँडिएको र त्यसपछि जोखिमपूर्ण अवस्थामा सडकमै छाडिनु प्राधिकरणको चरम लापरबाही देखिएको हो ।
नेपाल विद्युत प्राधिकरण धुलाबारी सेवा केन्द्रका प्रमुख शम्भुप्रसाद मण्डलले घटनालाई लिएर प्रहरीमा निवेदन दिएको बताएका छन् । ३ वटा पोलको तार चुडाएर भागेकाले प्रहरीसँग सम्बन्धित जेसिभी सञ्चालक डम्बर कोइरालालाई नियन्त्रणमा लिन आग्रह गरेको प्रमुख मण्डलको भनाई छ । चुडाएको पोल र तारको अवस्था बुझ्न इन्जिनियरसहित घटनास्थलमा प्राबिधिक पठाइसकेको मण्डलको भनाई छ ।
विद्युत ऐन, २०४९ को मूल उद्देश्य नै विद्युत सेवालाई सुरक्षित र व्यवस्थित बनाउनु हो । ऐनको दफा ३८ (४) मा विद्युत उत्पादन, प्रसारण लाइन, वितरण लाइन वा त्यससँग सम्बन्धित संरचनामा बदनियतसाथ प्रतिकूल असर पार्ने, भत्काउने, बिगार्ने वा हानि–नोक्सानी पुर्याउने कार्यमा बिगो असुलीसहित जरिवाना वा कैदको व्यवस्था गरिएको छ ।





