मेचीनगर । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सोमबार आज देखि सुरु भएको छ। जिल्लाको मेचीनगरबाट अभियानको औपचारिक सुरुवात गरिएको हो।काँकरभिट्टास्थित स्वास्थ्य केन्द्रमा कोशी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले खोप लगाएर अभियानको शुभारम्भ गरेका हुन्। कार्यक्रममा राज्यमन्त्री गौतमसहित झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दास, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी तथा वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङलगायतले खोप लगाएका थिए।उद्घाटन कार्यक्रममा राज्यमन्त्री गौतम, जिसस प्रमुख बराल, स्वास्थ्य कार्यालय झापाका प्रमुख दास र मेयर बुढाथोकीले जापानिज इन्सेफ्लाइटिसबाट बच्न समयमै खोप लगाउन सबैलाई आग्रह गरे। कार्यक्रमको सहजीकरण मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले गरेकी थिइन्।आजदेखि सुरु भएको खोप अभियान असोज १५ गतेसम्म सञ्चालन हुनेछ। झापामा ३० वर्षमाथिका करिब पाँच लाख जनालाई खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। मेचीनगरमा भने ६५ हजार ५२५ जनालाई खोप लगाइनेछ। जापानिज इन्सेफ्लाइटिसका कारण झापामा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। चालु वर्ष मेचीनगरमा मात्रै दुई जनाको मृत्यु भएको छ भने पछिल्लो तीन वर्षमा नगर क्षेत्रमा पाँच जनाको मृत्यु भइसकेको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य कार्यालयले तोकिएका खोप केन्द्रमा पुगेर खोप लगाउन तथा अभियानलाई सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ।