मेचीनगर आफ्नो नानीलाई कुटपिट गरेको भन्दै झापा मेचीनगर-१४, पाथीभरा टोलका अभिभावकबीच कुटाकुट हुँदा  दुई जना घाइते भएका छन् । स्थानीय रिना राजबंशीले आफ्नो १० वर्षीय छोरीलाई कुटेको सनकमा छिमेकी ८२ वर्षीय रामचन्द्र संग्रौला र मन्जु संग्रौलामाथि कुटपिट गर्दा दुवैजना घाइते भएका हुन् ।
घटनाको वास्तविकता:
घाइते संग्रौलाद्वय ससुरा र बुहारी हुन् । मन्जुको एक जना छोरा र एक छोरी छन् । आइतबारका दिन विद्यालय बिदा नै थियो । रिनाको छोरी र मन्जुको छोरा-छोरी फुर्सदमा खेल्ने आगन एउटै हो । उनिहरु एकआपसमा खेल्दै थिए । हजुरबुवा रामचन्द्रले आफ्ना नातीनातिनिलाई सम्झाउन खोज्दा रिनाको छोरिले एकछिन खेल्ने भन्दै जवाफ फर्काएकी थिइन् । रामचन्द्रले पढ्न पर्दैन भन्दै रिनाको छोरिलाई सम्झाउदै घर `जा´ भन्दै घचेडिदिएका थिए ।
रिनाको छोरी रुँदैरुँदै आमा भएको ठाउँमा पुगिन् र भनिन त्यो बुढोले कुट्यो ! रिना भर्खर आफ्नो दैनिकी सिध्याएर घर पुगेकी थिइन् । उनले आफ्नो छोरीलाई कुटेको बिषयलाई लिएर रामचन्द्रको घर पुगिन् र भनिन् किन मेरो छोरिलाई कुटेको ? 
झ्वाकी स्वभावका रामचन्द्रले रिनालाई सुझाउदै थिए । रिनाले एक्कसी हप्काउदै संग्रौला घरभित्र पसेर ८२ वर्षीय रामचन्द्रलाई लछारपछार पारिन् । ससुरालाई लछारपछार परेको देखेर बुहारी मन्जुले छुट्याउन खोजिन् । दुईजना आवेगमा भएकाले छुट्याउन जाने मन्जु आफै लडिन् । रिनाको कठालेबाट फुत्किएका रामचन्द्रले कोठामा रहेको खुकुरी खेलाउदै आत्मसुरक्षा गर्न खोजेका थिए । रिनाले बृद्वले बोकेको खुकुरी खोसेर उनैलाई प्रहार गर्न खोज्दा मन्जुले रोक्न खोजेकी थिइन् । मन्जु लडेपछि मलाई खुकुरीले काट्न आयो भन्दै रिनाले गाउँलेलाई डाकेकी थिइन् । 
घटनामा रामचन्द्रको टाउको, नाकमा चोट लागेको छ भने उनकी बुहारी मन्जुलाई वेहोस अवस्थामा धुलाबारीस्थित मेची आम्दा अस्पतालमा पुर्याएको थियो । आम्दाले तत्काल नसक्ने भनेपछी उपचारका लागि विर्तासिटी अस्पताल पुर्याइएको छ।
इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट पुगेको प्रहरीको टोली घटनाको अवस्था बुझेपछि रामचन्द्रको घरबाट घरायसी हतियार बरामद गरेको छ । 
सिमानाका कारण छिमेकीबीच द्वन्द्व:
रामचन्द्र संग्रौलाले आफ्नो धनीपुर्जा अनुसारको जमिन भोगचलन गर्न पाएका छैनन् । उनको नक्साअनुसारको जमिनमा छिमेकीको घर पर्छ। आफू पीडित भएको भन्दै पूर्व र हालका जनप्रतिनिधि, स्थानीय राजनीति दलका प्रतिनिधि तथा बुद्धिजीवीलाई राखेर पटकपटक अमिन लगाउदै नापजाँच गरेका थिए । नापजाँच गर्दा देखिएको साँझसिमाना मिलाउने बिषयमा जनप्रतिनिधि र सम्मीलितहरु निर्णायक बन्न नसक्दा रामचन्द्रले छिमेकीलाई जिल्ला अदालतमा निवेदन गरेका छन् । जग्गाको मुद्दाको बिषयमा कुरा गरेर हिड्दा छिमेकीबीच टकाराव र मनमुटाव हुँदै आएको हो। सोही बिषयलाई लिएर छिमेकीबीच द्वन्द्व श्रृजना हुँदै आएको छ ।