चारआली । अध्यक्षले आफुखसी निर्णय गरेको भन्दै हातेमालो सामुदायिक वन उपभोक्ता समुहका चार जना महिला सदस्यले सामुहिक राजीनामा दिएका छन् । समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलको एकल निर्णयमा वन सञ्चालन गर्न खोजेको भन्दै मुल समितिका चार जना महिला सदस्यले सामुहिक रुपमा राजीनामा दिएका हुन् । वनको नेतृत्व सम्हाल्दै आएका सिग्देलले दुई कार्यकालमा नेतृत्व सम्हाल्दै आएका छन् ।
किन दिए चार जना महिला सदस्यले राजीनामाः
मूल समितिका पदाधिकारीमध्ये उपाध्यक्ष राधिका सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय ढुवानी व्यवस्थापन समिति बनाएर जिम्मेवारी दिइएको थियो । स्थानीय सञ्जय राई (वनका पूर्व सहसचिव) लाई कटान, लोड, ढुवानी र जरा उक्काउने कामका लागि एक टिपको ३५ सयमा ठेक्का दिएको थियो । राईको काम गर्ने शैली ढिला भएको भन्दै अध्यक्षले छिटो काम सक्न आदेश गर्दै आएका थिए । ठेकेदार राईले ट्याक्टर फसेको बहानामा रातीको समयमा फसेको ट्याक्टर निकाल्न जेसिभि प्रयोग गर्न अध्यक्षसमक्ष माग गरेका थिए । अध्यक्ष सिग्देलले काम ढिला गरेको र विहान सबेरै ट्याक्टर निकाल्न भनेपछि ठेकेदार राईले उक्त ३५ सयमा काम गर्न नसकिने जनाउँदै प्रति टिप ४५ सय रुपैयाँ दिन माग गरेको श्रोतले बतायो । टिपको ४५ सय दिन नसक्ने भन्दै अध्यक्षले राईलाई उक्त दिनदेखि काम नगर्नु भन्दै फोनबाटै एकल निर्णय लिएका थिए । लोड र कटानको २ हजार रुपैयाँ र ढुवानी गरेको १३ सय रुपैयाँ गरी जम्मा एक टिपको ३३ सय रकम दिने निर्णय गर्दै अर्कैलाई ठेक्का दिएको समितिका उपाध्यक्ष राधिका सुब्बाले जानकारी दिइन् ।
ढुवानी व्यवस्थापन समितिलाई जानकारी र सोधपुछ पनि नगरी अध्यक्ष सिग्देलले एकल निर्णय गरेपछि रुष्ट बनेको महिला सदस्यहरुले सामुहिक राजीनामा दिएका हुन् ।
ढुवानी समितिमा रहेका छ जनामध्ये संयोजक सुब्बा र रुद्र कार्कीबाहेक चार जनाले सामुहिक राजीनामा दिएका हुन् । राजीनामापछि बैसाख ११ गते संयोजक सुब्बाले चार जनालाई राजीनामाको विषयमा छलफल गर्न बैठकमा डाकेकी थिइन् । बैठकमा चार जना सहभागी नभएपछि छलफल गर्न नसकिएको संयोजक सुब्बाले जानकारी दिइन् । निर्वाचित चार जना नै महिला सदस्यहरु लक्ष्मी लिम्बु, चन्द्रकला राई, रम्बा राजवंशी र जयन्ती राईले राजीनामा दिएका हुन् । उनीहरुका अनुसार अध्यक्षले यसअघि पनि सम्बन्धित क्षेत्रमा काम गर्दै आएकालाई नसोधी आफुखुसी रुपमा निर्णय गर्दै आएपछि समस्या हुँदै आएको थियो ।
वनमा करिव एक करोडबढी को घाटाः पहिलो कार्यकालमा वन सञ्चालन गर्दा करिव ३६ लाख ऋण देखाएका सिग्देलले आफ्नै कार्यकालमा ऋण तिर्ने कवुल गर्दै वनका उपभोक्तासमक्ष भोट मागेका थिए । उनकै कार्यकालमा लागेको ऋण तिर्न भन्दै निर्वाचनलाई पुनः एक पटक अध्यक्ष पदमा निर्वाचित गरेका थिए । तर, उपभोक्ताले जे अपेक्षाले चन्द्रप्रसाद सिग्देललाई निर्वाचित गरेका थिए त्यसको ठिक विपरित वनलाई अझ ऋणको भार बोकाउने काम मात्रै गरेको उपभोक्ताको आरोप छ ।
अध्यक्ष सिग्देलकै कार्यकालमा वनलाई हाल करिव एक करोडको हाराहारीमा ऋणको बोझ थुपारिएको स्रोतको दावी छ । वनको आम्दानी भन्दा बढी खर्च हुने शीर्षकका पछाडि नेतृत्व लागेका कारण हातेमालो सामुदायिक वन उपभोक्ता समितिलाई ऋणको बोझ थुपारिएको उपभोक्ताको आरोप छ । स्वर्गीय प्रेम पौडेलको नेतृत्वले वनलाई फाइदामा ल्याइएकोमा सिग्देलको कार्यकालमा सामुदायिक वनलाई चरम आर्थिक भार थुपार्ने काम गरेकोप्रति कार्यसमितिका सदस्यले नै नेतृत्वको विरोध गर्दै आएका छन् । कोभिड १९ का कारण पौडेलको निधनपछि तत्कालीन समितिका उपाध्यक्ष रहेका चन्द्रप्रसाद सिग्देललाई कार्यवहाक अध्यक्ष जिम्मेवारी सुम्पिएको थियो । सिग्देल नेपाली कांग्रेसका कार्यकता हुन् । उनले कार्यबहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा अन्य पार्टीले कहिँले विरोध र कहिँले समर्थन गर्दै आएका थिए । २०७८\०७९ सिग्देललाई अध्यक्षमा जिताउन तत्कालीन माओवादी केन्द्रले उपाध्यक्ष र सचिव पद दिएर प्यानल अघि बढाएपनि परिणाममा सचिव पराजीत भएपछि माओवादी पार्टी रुष्ट बन्दै आएको छ । नेकपा एमालेबाट उठेका यमकान्त प्याकुरेलले सचिव पद सम्हाल्दै आएका छन् ।
हातेमालो सामुदायिक वन सम्भावना बोकेको पयपर्याटकीय क्षेत्र पनि हो । वनभित्र प्राकृतिक र पौराणिक किम्वदन्तीलाई प्रर्बद्धन तथा विकास गर्दै कहिँले नसुक्ने पूर्वको फेवा तालको रुपमा सिमसार क्षेत्र रहेको छ । केही समययता वनभोज स्थाललाई व्यवस्थापन गर्दै राम्रो आम्दानीको श्रोत बनाउँदै आएपनि पर्याप्त अध्ययन अनुसन्धान नै नगरी सुरु गरेको सिमसारमा माछा पाल्ने योजना असफल बनेको छ भने माछाको दानामा आर्थिक भार थपिएको छ ।
निचाझोडा पर्यापर्यटन क्षेत्रको विकास, वनभोज स्थल व्यवस्थापन, सिमसारको वहाव निकासका लागि कल्भर्ट निर्माण लगायतका शीर्षकमा वडा कार्यालय मेचीनगर १३, १४ र मेचीनगर पालिकाको कार्यालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशबाट पटक पटक गरी करिव ३ करोडबढी बजेट ल्याएपनि उक्त बजेट अनुसारको विकास निर्माणमा सुधार ल्याउन नसकेको समिति र उपभोक्ताको गुनासो छ । अझ भन्ने हो भने एउटै शीर्षकमा दुईवटा बजेट खन्याएर राज्यकोषको दोहन गरेको पाइएको छ । पर्यपर्यटन विकास प्रर्वद्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकार दिँदै आएको बजेट रकम सही ठाउँमा प्रयोग नगरेर चरम अनियमितता गरेको स्थानीयको गुनासो छ । मेचीनगर नगरपालिकाले गत २०७९/०८० सालमा विनियोज गरेको बजेट सक्ने योजनामा असार महिनामा निर्माण सुरु गरेका थिए । बर्खाको समयमा निरन्तर पानीको बहाव बढेपछि उक्त कल्भर्ट निर्माणाधिन अवस्थामै बगाएको थियो । सिमसारको बहाव निकासका लागि पुनः बजेट माग गरेर राज्यकोषको रकम बजेट अनियमितता गरेको उपभोक्ताको गुनासो छ । वनको अनियमितता र घाटाको बिषयमा छानबिनसहितको माग गर्न जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा निवेदन गर्ने उपभोक्ताले जनाएका छन् । सोही बिषयमा बुझ्न खोज्दा हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्रप्रसाद सिग्देल र सचिव यमकान्त प्याकुरेल दुबैजनाको फोन उठेन । अनुगमन अनलाइनका पत्रकार प्रकाश उप्रेतीले अध्यक्ष सिग्देलको मोबाइल नम्बर ९८०२६७८१३५ र सचिव प्याकुरेलको मोबाइल ९८१७९१२८९१ नम्बरमा सम्पर्क गरेका थिए ।





















































