झापा । लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध सञ्चालन गरिएको ‘स्वीप अपरेशन´ का क्रममा प्रहरीले ६२ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका प्रहरी इकाइहरूले वैशाख १० गते सञ्चालन गरेको उक्त अभियानका क्रममा २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र नगद ९ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, दमक नगरपालिका–४ ताराबारीस्थितमा दमक नगरपालिका र दमक अस्पतालको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रम अन्तर्गत सार्वजनिक सवारी चालक तथा सहचालकहरूको लागुऔषध तथा मादक पदार्थ सेवन परीक्षण गरिएको थियो। किटमार्फत गरिएको परीक्षणमा ५४ जनामध्ये ३ जना चालक र २ जना सहचालकले लागुऔषध सेवन गरेको पाइएको छ भने २ जना चालकले मदिरा सेवन गरी सवारी चलाएको फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषध तथा मदिरा सेवन गरेका ६ जनालाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि गालीगलौज तथा दुर्व्यवहार गरेपछि मुलुकी फौज्दारी संहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थलमा अभद्र व्यवहार कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।





















































