झापा । स्थानीय तह र सञ्चार क्षेत्रमा समन्वय, विकास र सुदृढीकरणका लागि झापाको मेचीनगरमा स्थापना गरिएको मेचीनगर सञ्चार प्रतिष्ठान हाल अधिकार बिहिन बनेको छ । 
नगरमा पत्रकार र सञ्चारमाध्यमलाई ब्यवस्थित गर्न मेयर गोपालचन्द्र बुढाथोकीले पहिलो पटक मेचीनगरमा सञ्चार प्रतिष्ठानको परिकल्पना अघि सारेका थिए । स्थानीय तहले बर्सेनि प्रदान गर्दै आएको लोककल्याणकारी सूचनाका बिषयदेखि अन्य बिषयमा स्थानीय सञ्चारमाध्यमलाई सहजीकरणमा टेवा पुग्दै आएपनि हाल नगर निर्णयकै कारण प्रतिष्ठान अधिकारबिहिन बनेको हो । 
नगरले उपयुक्त निर्णय नगरेकै कारण हाल सञ्चार प्रतिष्ठान छ कि छैन भन्ने बिषयमा त्यहाँका सञ्चारकर्मीले प्रश्न गर्न थालेका छन् । जेनजी आन्दोलनपछि बिवादमा परेका मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्षलाई नगरपालिकाले निलम्बन गरेको बिषय बाहिरिएको थियो । तर नगरले प्रतिष्ठानका अध्यक्षलाई कार्वाही गरेको बिषय भने नगरकै निर्णय पुस्तिकामा भेटिँदैन । त्यसमापनि आधिकारिक रुपमा अध्यक्षलाई कार्वाही गरेको जानकारी नदिनु र निर्णय पुस्तिकामा कार्वाही गर्ने निर्णय उल्लेख नहुनुले कार्वाही गरेको छैन भन्ने पुष्टि हुन्छ ।
आफुले गर्दै नगरेको बिषयमा केही पत्रकारको उक्साहटमा हिरादेबी पाण्डेले आफुलाई मुद्दा हालेको र कसुर नठहरिएपछी मुद्दा किनारा लागिसकेको मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चौलागाईंले जानकारी दिए । उक्त बिषयमा अध्यक्ष चौलागाईंले भने,-`सञ्चार प्रतिष्ठान नै नराख्ने नगरको योजना रहेको भन्ने सुनेको छु, मलाई र म निकटका समितिका साथीहरु कसैसँग पनि नगर नेतृत्वले समन्वय गरेको पाएको छुइँन, यदि मैले सुनेको कुरा तथ्य हो भने मेचीनगरले यहाँका आम नागरिकको अधिकार बुलन्द गर्ने सञ्चारकर्मी र सञ्चारगृहमाथि चरम बेवास्ता गरेको हो ।´नगरले अध्यक्ष विवादमा परेकै करण कार्वाही गरेको हो भने समितिलाई सक्रिय राख्न कार्यवाहक अध्यक्ष तोकिदिएर निकास खोज्नुपर्थ्यो र कार्वाही नगरेको भए किन प्रतिष्ठान सक्रिय नराखेको हो यो बिषयमा अन्योल भएको प्रतिष्ठानका सदस्य सचिब प्रकाश पौडेल बताए । 
गत २०७९ सालको निर्वाचनको ६ महिनापछि मेचीनगर सञ्चार प्रतिष्ठानका लागि शिशिर चौलागाईंलाई अध्यक्ष र प्रकाश पौडेललाई सदस्य सचिवसहित नौ सदस्यीय कार्यसमिति निर्माणसँगै नगरले अधिकार प्रदान गरेको थियो । नगरपालिका र सञ्चार दुबै क्षेत्रकाे हितका लागि निर्माण गरिएको सञ्चार प्रतिष्ठानले अपेक्षा गरेका नगर सुधारका बिषयमाथि नगर नेतृत्वले नै बेवास्ता गरेपछी प्रतिष्ठान अन्योलमा पर्दै आएको थियो ।
नगरभित्रको गतिविधिलाई नागरिकसम्म पुर्याउन र नराम्रो गतिविधिमा खवरदारी गर्दै ब्यवसायिक पत्रकारिता बिकाससँगै नगरको बिकास साझेदार बनेको प्रतिष्ठानले सुरुको केही समय नियमित कार्यक्रम, तालिम तथा अन्तरक्रिया गर्दै आएको थियो । पछी प्रतिष्ठानलाई नगरले उचित ब्यवहार नगरेकै कारण सक्रियता हराउँदै गएको पदाधिकारीको भनाई छ । 
यसअघि प्रतिष्ठानले नगरको चौतर्फी विकासमा सहयोग गर्न नगरसँग समन्वय गर्दै कार्यालय समेत स्थापना गरेको थियो । समन्वयबाटै स्थापना गरेको कार्यालयमा नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले अवरोध गर्दै अर्को ताला लगाइदिएपछि नगर र प्रतिष्ठानबीच सम्बन्ध चिसिएको थियो । नगरहितका लागि आफैले बनाएको प्रतिष्ठान र कार्यरत पदाधिकारीलाई उपेक्षा गर्दै नगरको ब्यवहारले प्रतिष्ठान थप निराशा बढेको सदस्य सचिव पौडेलको भनाई छ ।
आफ्नो कार्यकालको सुरुमै कोशी प्रदेशमा पहिलो पटक पत्रकारिता क्षेत्रलाई ब्यवस्थित गर्न सञ्चार प्रतिष्ठान निर्माण गरिएको मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । सञ्चार प्रतिष्ठानलाई ब्यवस्थित बनाएर लैजान कानूनी मस्यौदा ड्राफ्ट समेत गरिसकेको छ प्रमुख बुढाथोकीले भने,` प्रतिष्ठान हाल निष्क्रिय भएको छ । अध्यक्षका बिषयमा छलफल चलाउनुपर्ने देखिएको छ, तर मैले भ्याएको छैन-प्रमुख बुढाथोकीले भने ।
नगरभित्रका पत्रकारको क्षमता अभिबृद्वी गर्दै जनतालाई दिशानिर्देश र मिडिया पाट्नारको परिकल्पनासहित निर्माण गरिएको प्रतिष्ठान निर्माणले आशा जगाएको तर निष्क्रियताले निराशा पलाएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । प्रतिष्ठान सञ्चालनका लागि सञ्चार प्रतिष्ठान ऐन बनाउन ड्राफ्ट समेत गरिसकेको थियो, `अब यो प्रतिष्ठानलाई `रिइन्जियरिङ´ गर्नुपर्ने देखिएको छ,अधिकृत अधिकारीले भने ।´