प्रकाश उप्रेती
झापा । झापाको मेचीनगरमा नगर अस्पताल बनाउँदा चरम लापरवाही र भ्रष्टचार भएको भन्दै स्थानीयले सरकारको ध्यानाकर्षण गराउँदै खबरदारी गरेका छन् । मेचीनगर–१४ स्थित प्रगति टोल र पाथीभरा टोलबासीसहित युवा अभियान नेपालले स्थलगत अनुगमनपछि शनिबार सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले सरकारले ल्याएका हरेक योजनामा आम नागरिकको हिस्सा रहने भन्दै नगरअस्पताल निर्माणाधिन अवस्थामै अलपत्र पारिनु चरम अनियमितता र भ्रष्टाचारको परकाष्ट भएको भन्दै छानविनको मागसमेत गरेका छन् ।
उनीहरुले स्थानीय तह र केन्द्रीय सरकारसमक्ष दोषीलाई कारवाहीको मागसहित ज्ञापन पत्र बुझाउने अभियान नेपालका संयोजक पशुपति भट्टराईले जानकारी दिए । हाल अस्पताल निर्माणका लागि ल्याएको निर्माण सामाग्री सिमेन्ट प्रयोगविहिन अवस्थामा पुगेको छ भने रड र मेसिन औजार कुहिँने अवस्थामा पुगेको छ । इट्टा, गिट्टी, बालुवा चोरी हुँदै आएको छ । निर्माणाधिन अस्पताल परिषर भने खण्डहर झैं झारजंगलले ढाकिएको छ ।
८ प्रतिशत काम २ करोड ६० लाख पेश्कीः
अस्पतालका लागि एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा कुल लागत साढे २० करोड रुपैयाँ थियो । तर अस्पताल निर्माणका लागि भूमि÷बीपीएल जेभीले १३ करोड ३० लाखमा निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम थालेको थियो । निर्माण कम्पनी भूमि विपिएल कन्ष्ट्रसनले ५ देखि ८ प्रतिशत पनि काम नसक्दै २ करोड ६० लाख पेश्की लिएर कन्स्ट्रक्सनका सञ्चालक कृष्णा बोहोरा सम्पर्कविहीन बनेका थिए । २०८० साउन मसान्तभित्र निर्माण सम्पन्न गर्ने भनी २०७८ असार २९ गते ठेकेदार कम्पनीले संझौंता गरेको थियो ।
मेचीनगरमा त्यसवेला नगरअस्पताल थिएन । मेचीनगर–१० धुलाबारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमात्रै थियो । प्रबिधी र बिषेशज्ञ चिकित्सकसहितको नगर अस्पताल नहुँदा ३२ हजारबढी नागरिकको स्वास्थ्य प्रतिकूल हुँदा उपचार गर्न छिमेकी पालिका वा निजी अस्पतालमा पुग्नुपर्ने अवस्था थियो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आर्थिक वर्ष २०७७ र ०७८ मा देशभरका करिब ३ सय बढी स्थानीय तहमा १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेका थिए । योजना अनुसार मेचीनगर-१० स्थित (पशु हाट) हालको नगरअस्पताल भएको जमिन अस्पतालका लागि अपुग हुने भन्दै लालपानीमा योजना सारिएको थियो ।
सो विषयले मेचीनगरमा अस्पताल कहाँ बनाउने भन्ने विषयमा कौतुहल र विवादसमेत भएको थियो । अन्तिममा मेचीनगर–१० को लालपानी क्षेत्रमा जमिनको टुंगो लागेपछि तत्कालीन मेयर आचार्य र उपमेयर मिना उप्रेतीले शिलान्यास गरेका थिए ।
राजनीतिक कारणः
हाल गोपालचन्द्र बुढाथोकीले मेचीनगरको बाकडोर सम्हाल्दै आएका छन् । मीना उप्रेतीले दुई कार्यकाल उपप्रमुख पद सम्हाल्दै आएकी छन् । नगरप्रमुख र उपप्रमुखद्धय नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । नगर अस्पताल अलपत्र परेको चारवर्ष वित्तिसक्यो ।
यसअघि वर्तमान नगर प्रमुख बुढाथोकीले २०७९ सालमा पुनः धुलबारीमा नै १६ बेडको नगर अस्पताल निर्माणको शिलान्यास गरेपछि अलपत्र अस्पतालले जिवन्त पाउँन नसकेको हो । पूर्व नगरप्रमुख विमल आर्चाय नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । कांग्रेसबाट निर्वाचित नगरप्रमुखले अस्पताल निर्माणको योजना ल्याए तर नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकी त्यो योजनालाई अलपत्र पार्दै पुनः अर्को अस्पताल निर्माण आरम्भ गरेका थिए । विगतमा १५ वेडका लागि (पशु हाट) को १० कट्ठा जमिन उपयुक्त नहुने भएपछि लालपानीमा नगरको स्वामित्वमा रहेका करिब ६ बिघामध्ये ३ बिघामा अस्पताल निर्माण सुरु गरिएको थियो । त्यसअघि त्यहाँ खेल मैदान निर्माण गरिएको थियो । 
योजना अस्पष्टता तथा व्यवस्थापन कमजोरीः
अस्पताल निर्माणका लागि स्थान परिवर्तन, योजना अस्पष्टता तथा व्यवस्थापन कमजोरीका कारण परियोजना अलपत्र परेको पूर्वनगर प्रमुख विमल आचार्य बताए । उनले आफ्नो कार्यकालमा सुरु गरेका राम्रा कामलाई वर्तमान नगर नेतृत्वले सहजीकरण गर्दै जानुपर्नेमा जोड दिएका थिए ।
आफ्नो कार्यकालमा सुरु गरेका योजना वर्तमान नेतृत्वले कानुनी र प्राबिधिक प्रक्रिया पुर्याएर अघि बढ्न आग्रह गरेका थिए । विकास निर्माणमा गौरवका योजनादेखि नागरिकको हितलक्षित गरिएका विकास निर्माणका योजनादेखि शिक्षा, स्वास्थ्य, रोजगार तथा कृषि योजनाहरु प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ, पूर्वमेयर आचार्यले भने, ‘अब यहाँ त कस्तोलाई राम्रो भन्ने कस्तोलाई नराम्रो भन्ने विषयमा नेतृत्वले उचित निर्णय गर्नुपर्नेछ ।´





















































