काठमाडौँ । इजरायल र अमेरिकाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानले पनि जबाफी हमला जारी राखेको छ । खाडी देशहरूमा तनाव हुँदा हवाई उडान अस्तव्यस्त भएको छ । जसका कारण लाखौँ यात्रु गन्तव्य पुग्न र स्वदेश फर्किन पाएका छैनन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेसँग उत्पन्न भएको यो तनाव लम्बिने सङ्केत देखिएको छ । इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, कुवेत लगायत देशमा रहेका अमेरिकी बेस क्याममा आक्रमण गरेको छ भने अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राखेका छन् ।
यो युद्धबाट खाडी मुलुक प्रत्यक्ष प्रभावित भएका छन् । यससँगै विभिन्न खाडी मुलुकमा रहेका लाखौँ नेपाली श्रमिकसमेत समस्यामा परेका छन् ।
खाडी मुलुकहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार यूएई, साउदी अरेबिया, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान, इजिप्ट र इरानमा गरी १७ लाख २९ हजार २८८ नेपाली कार्यरत छन् । अझ श्रम स्वीकृति नलिई गएका, भिजिट भिसामा गएर उतै लुकेका र कागजातविहीन भएकाहरूको संख्या जोड्ने हो भने यो आँकडा २० लाखको हाराहारीमा पुग्ने अनुमान छ ।
युद्ध अझै चर्किएमा नेपाल सरकारले १७ लाखभन्दा बढी आफ्ना नागरिकको सकुशल उद्धार गर्न सक्ला त ? गम्भीर प्रश्न खडा भएको छ । विज्ञहरूका अनुसार सबै नागरिकलाई तत्काल उद्धार गर्न आर्थिक रूपमा पनि सरकार सक्षम नहुने बताउँछन् । १७ लाख नेपालीलाई छोटो समयमा स्वदेश फर्काउनु नेपालको वर्तमान प्राविधिक, आर्थिक र कूटनीतिक क्षमताको कसीमा लगभग असम्भवप्रायः देखिएको छ । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका लाखौँ नेपाली नागरिकको उद्धारका लागि राष्ट्रियस्तरमै योजना हुनुपर्ने बताए । उनले बुधवार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा यसबारे धारणा राखेका हुन् ।औपचारिक तथा अनौपचारिक रूपमा गएका २५–३० लाख नागरिक नेपाल फर्काउनु पर्ने अवस्था रहेको मन्त्री शर्माको भनाइ छ । परराष्ट्र मन्त्रालयले पूर्वाधार निर्माणका लागि कामको थालनी गरिसकेको उनले जानकारी दिए । मन्त्री शर्माले भने, ‘हामीले एउटा सिचुएसन सेन्टरको स्थापना गरेका छौँ ।’ सिचुएसन सेन्टरले नियमित रूपमा अपडेट गरिरहेको र सबै ठाउँमा सम्पर्क स्थापित गरेको उनको भनाइ छ । मन्त्री शर्माले भने, ‘जसले यो कुराको नियमित रूपमा यो डाटाहरूको अपडेट गर्छ र भोलि उद्धार गर्नुपर्यो भने यसैको बेसको रूपमा काम गर्ने तयारी छ । यसले सबै ठाउँमा सम्पर्क स्थापित गरेको छ । कति नागरिक छन्, कतातिर छन्, कसरी समन्वय गर्ने भन्ने कुरा मन्त्रालयले निर्देशन दिइसकेको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जानेभन्दा उताबाट फर्कने यात्रुको संख्या अधिक देखिएको छ । फागुन २० यता मध्यपूर्वका देशहरूबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल आएका नेपालबाट भने २ हजार २८ जना गएको विमानस्थलले जनाएको छ । यस अवधिमा कुल २३ उडान भएको विमानस्थल कार्यालयको तथ्यांक छ । अर्कातर्फ ती देशमा द्वन्द्व चर्किएपछि दैनिक डेढ दर्जन उडान रद्द भइरहेका छन् ।



















































