झापा । नेपालको निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली हो, जसअनुसार प्रतिनिधिसभाको २७५ सिटमध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने ११० सदस्य समानुपातिक प्रणालीबाट चुनिन्छन्। प्रतिनिधि निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना भइरहेको छ । प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको गणना हुनेछ । समानुपातिकको मतगणना सकिएपछि दलहरूले प्राप्त गरेको मतका आधारमा निश्चित सूत्र प्रयोग गरेर सिट बाँडफाँट गरिन्छ । राजनीतिक दलहरूले मतदानभन्दा अगाडि नै निर्वाचन आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको नामावली बुझाएका हुन्छन् । दलहरूले समानुपातिक प्रणालीमा पाएको मतका आधारमा सिट बाँडफाँड गर्ने गरिन्छ ।

निर्वाचन आयोगका अनुसार त्यसरी सिट बाँडफाँड हुन उनीहरूले खसेको कुल सदर मतको तीन प्रतिशतमाथि मत पाएको हुनुपर्छ । तीन प्रतिशत मत कटाएका दलहरूलाई सिट बाँडफाँडका लागि आयोगले ‘सेन्ट लग मेथड’ का आधारमा कति सिट पाएको छ भन्ने निर्णय गर्दछ । त्यसरी दलले प्राप्त गरेका सिटमा समावेशीताका आधारमा सदस्यहरू निर्वाचित गर्नुपर्ने हुन्छ । दलहरूले संघीय संसद्मा अनिवार्य रूपमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने हुन्छ । दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कति महिला सदस्य निर्वाचित गरेका छन्, ती दलको राष्ट्रियसभामा पनि महिला सदस्य छन् भने त्यसको पनि हिसाब गरिन्छ र पुगे-नपुगेको हिसाब गरेर सिट बाँडफाँड गरिन्छ ।

यसैगरी, समावेशी प्रतिनिधित्वको सिद्धान्तअनुसार समानुपातिक उम्मेदवार निर्वाचित गर्दा खस-आर्यबाट ३१.२ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेसी १५.३ प्रतिशत, दलित १३.८ प्रतिशत, थारू ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, पिछडिएको क्षेत्रबाट ४ प्रतिशत सहभागिता गराउनुपर्ने व्यवस्था रहेको छ । बन्दसूचीबाट सदस्य छान्दा क्लष्टरमा रहेको प्राथमिकता क्रममा तलमाथि नपारीकन छनोट गर्नुपर्ने हुन्छ ।

समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवारलाई नभई दललाई भोट दिइन्छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको ११० सिटका लागि सिंगो नेपाललाई एउटा निर्वाचन क्षेत्र मानिएको छ । राज्यको मूल प्रवाहमा नआएका जात, जाति, वर्ग, लिङ्ग, पिछडिएका समुदाय लगायतको प्रतिनिधित्व होस् भनेर यो निर्वाचन प्रणाली अपनाइएको हो ।

कसरी हुन्छ हिसाब ?

समानुपातिक तर्फको निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ विधिबाट निर्वाचित हुने उम्मेदवारको प्रभाव परेको हुन्छ । त्यसैले समानुपातिक तर्फको निर्वाचनको लागि सबैभन्दा पहिला निर्वाचित हुने विधिवत् निर्वाचित हुनेको मत परिणामसहितको अन्तिम नतिजा आउनुपर्छ । अन्तिम नतिजा आएपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ । यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको तीन प्रतिशतको अंकलाई `थ्रेसहोल्ड´ बनाइन्छ । अहिले प्रतिनिधिसभाको निर्वाचनमा ६५ वटा दलहरूले भाग लिएका छन् । तीन प्रतिशतको अंकलाई थ्रेसहोल्ड अंक निकालेपछि प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएका दलहरूले समानुपातिक तर्फको निर्वाचनमा पाएको मत र थ्रेस होल्डको अंकसँग तुलना गरिन्छ ।

यस्तो तुलनामा थ्रेस होल्डको सीमा पार गरेका दलहरू र सीमा काट्न नसकेका दलहरू विभाजन गरिन्छ । थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरू समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन् ।

बाहिरिएका दलसँगै ती दलहरूले प्राप्त गरेको मतसमेत समानुपातिक निर्वाचनमा प्राप्त कुल सदर मतबाट घटाइन्छ । यसरी घटेर प्राप्त भएको मत यसपछि समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन योग्य हुन्छ । यसरी योग्य दल र मतको छनोट हुन्छ ।

यस्तो छ सिट निकाल्ने प्रक्रिया:

सबैभन्दा पहिले कुल खसेको सदर मत कति आयो र कुन दलले कति मत प्राप्त गरे, त्यसको निर्क्योल गरिन्छ । त्यसपछि कुन कुन दलले कुल खसेको सदर मतको तीन प्रतिशतको थ्रेसहोल्ड कटाए, त्यो निकालिन्छ । त्यसपछि थ्रेसहोल्ड नकटाएका दलहरूले प्राप्त गरेको मत कुल सदर मतबाट घटाइन्छ र बाँकी रहेको मतअनुसार समानुपातिकको सिट संख्या भाग लगाइन्छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन परिणाम पुस्तकका अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको सिट विभाजन गणितीय सूत्र सेन्ट लग मेथडका आधारमा विभाजन गरिएको थियो । सामान्य रूपमा बुझ्दा यो सूत्रअनुसार जम्मा मतलाई जम्मा सिटले भाग गर्दा आएको भागफलले प्रत्येक दलले प्राप्त गरेको मतलाई भाग गरिन्छ ।

यसरी भाग गर्दा नतिजा दशमलवमा आयो भने त्यसलाई शून्यान्तर गरेर सग्लो अंक निकालिन्छ । अहिले प्रतिनिधिसभाको समानुपातिकतर्फ ६५ दलले भाग लिएका छन् । तीमध्ये पाँच दलले तीन प्रतिशतको थ्रेसहोल्ड कटाए भने बाँकी ६३ दलले प्राप्त गरेको मत कुल सदर मतबाट घटाइन्छ र बाँकी रहेको मतका आधारमा ११० सिट पाँच दलका लागि विभाजन गरिन्छ । यसलाई उदारणसहित हेरौँ । यसपालि कुल मतदाता संख्या एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

निर्वाचन आयोगले करिब ६० प्रतिशत मतदान भएको विवरण दिएको छ । कूल मतदाताको ६० प्रतिशत त्यसका आधारमा एक करोड १३ लाख जति हुन्छ । मानौँ एक करोड १० लाख मत खस्यो । यसमध्ये आठ/दश प्रतिशत मत बदर हुँदा कुल सदर मत एक करोड मानौँ । त्यसमध्ये थ्रेसहोल्ड तीन लाख कतिले कटाउलान् ? मानौँ पाँच दलले कटाए भने बाँकी दले कति मत ल्याउलान् ? समानुपातिक सिट बाँडफाँट विधिअनुसार थ्रेसहोल्ड नकटाउने दलहरूले पाएको मत कुल सदर मतबाट घटाइन्छ । मानौँ ती दलहरूले १० लाख मत पाए भने अब बाँकी रह्यो ९० लाख । अब ९० लाख मतलाई कुल सिट संख्या ११० ले भाग गरौँ । भागफल हुन आउँछ ८१ हजार ८१८ । अब यो भागफलले दलहरूले पाएको मतलाई भाग लगाइन्छ । मानौँ थ्रेसहोल्ड तीन लाख छ भने तीन लाखलाई ८१ हजार ८१८ ले भाग गरौँ । भागफल हुन आउँछ ३.६६ । अर्थात् राष्ट्रिय दल हुने कम्तीमा तीन/चार सिट पाउँछ । कुनै दलले १० लाख मत पायो भने उसले १२/१३ सिट पाउने भयो । त्यस्तै, २० वा ३० लाख मत पाउनेले यही अनुपातमा सिट पाउनेछ ।