मेचीनगर । झापाको मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको सहलगानीमा मेचीनगर-१३ चारआलीमा आधुनिक कृषि मण्डी निर्माण हुने भएको छ ।
अव्यवस्थित रुपमा रहेको चारआली बजारलाई पीपीपी मोडल (सार्वजनिक–निजी साझेदारी) कार्यक्रम अन्तरगत कृषि मण्डी निर्माण हुने भएको हो । चारआलीमा यसअघि वर्षौंदेखि व्यवस्थित कृषि मण्डीको माग हुँदै आएको थियो । मण्डी निर्माणका लागि नगरपालिका र संघबीच आज सम्झौता भएको छ ।
सम्झौता पत्रमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल तथा मेची उद्योग बाणिज्य संघका तर्फबाट अध्यक्ष खेमराज प्रसाईं, कार्यकारी निर्देशक गोपाल वस्नेतको हस्ताक्षर रहेको छ । मण्डी मेचीनगर–१३ स्थित चारआली चौकदेखि दक्षिण भद्रपुर रोड जाने सडकको पुरानो आइतबारे हटियाको १६ कठ्ठा १४ धुर जग्गामा निर्माण गरिने भएको छ ।
सम्झौतामा सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तर्गत मण्डीको निर्माण र सञ्चालन गरिने उल्लेख छ । संघले सब्जी मण्डी निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न वार्षिक रु. छ लाख ३५ हजार लगानी गर्नेछ भने मेचीनगर नगरपालिकाले नगरपालिकाले जग्गा सम्याउने, कल्भर्ट बनाउने, विद्युत र खानेपानी सुविधा पुर्याउने र सीसी क्यामेरा जडान गर्नेछ । सहमति अनुसार संघले टहरा र पार्किङ निर्माण गर्नु पर्नेछ ।
मण्डीमा २५ वटा कोठा रहने छन् । जसको निर्माण कार्य समेत सुरु भइसकेको वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।



















































