झापा । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक झन्डै दुईतिहाई  अधिकार प्राप्त गरेको छ । यो नेपालकै एउटा पार्टीले प्राप्त गरेको एकलौटी र ऐतिहासिक  सिट संख्या हो ।

रास्वपाले प्रत्यक्षतर्फमा १२५ सिट र समानुपातिकमा ५७ सिट गरेर १८२ सिट प्राप्त गरेको छ । यो ऐतिहासिक जीत हो ।नेपालमा २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले १२० सिट प्राप्त गरेको थियो । त्यो बेला देशभर प्रत्यक्ष तर्फ २४० क्षेत्रमध्ये १२० सिट प्राप्त गरेको थियो । अंंकगणितीय हिसाब अनुपात गर्दा उ बेलाको माओवादी केन्द्रले प्राप्त गरेको सिट संख्या र हाल रास्वपाले प्राप्त गरेको सिट संख्यानै बढी हो । २०६४ सालपछिको निर्वाचनबाट धेरै सिट कायम गर्दै आफुलाई ठुलो पार्टीको दर्जामा राख्दै आएको पार्टी नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक २० गरेर जम्मा ३८ सिट प्राप्त गरेको छ । नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट गर्दै २५ सिट प्राप्त गरेको छ ।  नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षबाट ८ सिट र समानुपातिकमा ९ सिट १७ सिट, श्रम संस्कृति पार्टीले प्रत्यक्षबाट ३ र समानुपातिकमा ४ सिट जम्मा ७ सिट प्राप्त गरेको छ । राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ सिट गरेर ५ सिट प्राप्त गरेका छन् ।

रास्वपाको प्राप्त गरेको सिट दुईतिहाई कि बहुमत ?

नेपालको संविधानले प्रतिनिधि सभाका लागि २७५ सिट कायम गरेको छ । जसमा प्रत्यक्षतर्फ १६५ सिट र समानुपातिक ११० सिट छुट्याएको छ । एउटा पार्टीले मात्रै प्रत्यक्ष र समानुपातिकसहित १३८ सिट प्राप्त गरे बहुमत पुग्छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट प्राप्त गरिसकेको छ भने समानुपातिकमा ४९ लाख २४ हजार ७४३ मत प्राप्त गरेको छ ।  समानुपातिकको थ्रेसहोल्ड ३ लाख छ भने उक्त प्राप्त मतलाई ८१ हजार ८१८ ले भागफल नै समानुपातिक मत परिणाम हो । रास्वपाले प्राप्त गरेको समानुपातिकको सिट संख्या करिव ६० रहेको छ । यो दुईतिहाई मत होइन । 

संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। रास्वपाले संसदीय दलको नेतामा बालेन्द्र शाह लाई चयन गरेपछि उनी स्वतः प्रधानमन्त्री बन्ने कानुनी प्रक्रिया अघि बढ्नेछ।

निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गरेपछि एक साताभित्र राष्ट्रपतिलाई परिणामसहितको प्रतिवेदन पेश गर्ने व्यवस्था छ । त्यसपछि संविधानको प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठन हुने क्रम सुरु हुनेछ। यसरी स्पष्ट बहुमतको आधारमा रास्वपा पाँच वर्ष स्थिर सरकार सञ्चालन गर्ने स्थिति कायम भएको छ।