प्रकाश उप्रेती

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा झापाका तीन जना पुर्व संबिधान सभा सदस्यसहित ७८ जनाको जमानत जफत भएको छ । झापा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी सरिता प्रसाईं पुर्व संविधान सदस्य हुन् । खस आर्य समुदायको प्रतिनिधित्व गर्दै २०७९ सालमा समानुपातिक प्रणालीबाट संविधान सभा सदस्य बनेकी थिइन् । उनले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ५ हजार ६ सय १६ मत प्राप्त गरिन् । त्यस्तै पहिलो संविधान सभा सदस्यमा झापा-३ बाट जित हासिल गरिसकेकी पुर्व राज्यमन्त्री धर्मशिला चापागाईंले पनि १० प्रतिशत मत प्राप्त नगर्दा जमानत जफत भएको छ । हाल नेपाली कम्युनिस्ट पार्टीले झापा-२ बाट उम्मेद्वार बनाएको थियो । उनले १ हजार १ सय १५ मत प्राप्त गरेकी छिन् । त्यस्तै झापा ३ बाट नेकपा एमालेबाट उम्मेद्वार बनेका हरिबहादुर राजबंंशी पनि पुर्व संबिधान सभा सदस्य हुन् । उनले ७ हजार ४९२ मत प्राप्त गरेका गर्दै जमानत जफत भएको छ । झापाका पाँच वटा निर्वाचन क्षेत्रमा विभिन्न दलका ९० जनाले उम्मेद्वारी दिँदै मैदानमा उत्रेका थिए । जसमध्ये ७८ जनाको जमानत जफत भएको र ७ जनाले जमानात जफत हुनबाट जोगाएका छन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका केशवराज पाण्डे, देउकुमार थेवे र श्रम संस्कृति पार्टीका केवलराम राईसहित सात जनाले मात्रै जमानत जोगाएका छन् । 

उनिहरुले निर्वाचन कार्यालयले तोकिएको कुल सदर मतको १० प्रतिशतबढी मत प्राप्त गरेर जमानत जफत हुनबाट जोगाएका हुन् । उनीहरुले उम्मेद्वार मनोनयन गर्दा धरौटी जफत राखिएको रकम फिर्ता पाउछन् भने अन्य ७८ जनाको भने धरौटी रकम जफत भइ नेपाल सरकारकाको कोषमा जम्मा हुन्छ ।उम्मेद्वारी दर्ता गर्दा पुरुष र अन्य समुदायका उम्मेद्वारले १० हजार तथा महिला र विभिन्न संरक्षित कोटा पर्ने समुदायका उम्मेद्वारले ५ हजार जमानत (धरौटी) राखेका थिए । झापा १ मा विजयी हुने उम्मेद्वार राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्दै बिजयी भएकी छन् ।  

झापा-१ मा १२ जनाको जमानत जफत: झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका थिए । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगी सर्वाधिक मतसहित विजयी हुँदा १२ जनाले १० प्रतिशत मतसमेत प्राप्त नगर्दा जमातनत जफत भएको हो । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत (९.७८ प्रतिशत) ल्याए पनि १० प्रतिशत मत नपुग्दा उनको जमानत जफत भएको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अशेष घिमिरेले ९२२ मत (१.१७ प्रतिशत), उज्यालो नेपाल पार्टीका नरेशकुमार लावतीले ४८५ मत (०.६१ प्रतिशत), मंगोल नेसनल अर्गनाइजेशनका सन्तोष तामाङले ९७१ मत (१.२४ प्रतिशत), राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमराज कार्कीले १ हजार ६१२ मत (२.०५ प्रतिशत) प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद साँवा लिम्बूले ८४ मत (०.१० प्रतिशत) मात्र पाएका छन् । नेपाल मजदुर किसान पार्टीका हिरण्यप्रसाद भट्टराईले २३ मत (०.०२ प्रतिशत), स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेलले ३३ मत (०.०४ प्रतिशत), नेपाल जनमुक्ति पार्टीका खाद्रु करुवाले १७ मत (०.०२ प्रतिशत) प्राप्त गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मानवबहादुर साँवा लिम्बूले ९९ मत (०.१२ प्रतिशत), जनता समाजवादी पार्टी नेपालकी रमा मेचेले ४३ मत (०.०५ प्रतिशत) र नेपाल सद्भावना पार्टीका ओलेन राजवंशीले १०९ मत (०.१३ प्रतिशत) ल्याएपछि उनीहरूको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ मा १६ जनाको जमानत जफत: झापा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईले ५ हजार ६१६ मत (६.१४ प्रतिशत) प्राप्त गरे पनि १० प्रतिशत मत नपुग्दा जमानत जफत भएको छ। प्रसाई र चापागाईँ पूर्वराज्यमन्त्री हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार  भद्रप्रसाद नेपाल ३ हजार ९६६ मत (४.३४ प्रतिशत) मात्रै प्राप्त गरे। यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीकी चन्द्रकुमारी थारुले २० मत (०.०२ प्रतिशत), मंगोल नेसनल अर्गनाइजेशनका अक्कलबहादुर तामाङले १४८ मत (०.१६ प्रतिशत) प्राप्त गरे। श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २९१ मत (७.९८ प्रतिशत) पाए पनि जमानत जोगाउन सकेनन् ।

स्वतन्त्र उम्मेद्वार डा. युवराज संग्रौलाले ३०५ मत (०.३३ प्रतिशत), नेपाली कम्युनिष्ट पार्टीकी धर्मशीला चापागाईँले १ हजार ११५ मत (१.२२ प्रतिशत), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता लावतीले ६० मत (०.०६ प्रतिशत), स्वतन्त्र उम्मेद्वार पुण्यप्रसाद आचार्यले ५६ मत (०.०६ प्रतिशत) पाए।

यसैगरी जनता समाजवादी पार्टीका तीलबहादुर राईले ९९ मत (०.१० प्रतिशत), नेकपा संयुक्तका श्रीप्रसाद सिटौला ६४ मत (०.०७ प्रतिशत), उज्यालो नेपाल पार्टीका चुर्णाकण वेघा ५६० मत (०.६१ प्रतिशत), नेकपा माओवादीका अर्जुनकुमार पाण्डे ९८ मत (०.१० प्रतिशत), स्वतन्त्र उम्मेद्वार रमेशकुमार कार्की ६ मत, जनमत पार्टीका रमेशकुमार राजवंशी ३८० मत (०.४१ प्रतिशत) र नेपाल जनमुक्ति पार्टीका मानवबहादुर पुलामी मगरले ६१ मत (०.०६ प्रतिशत) पाएपछि उनीहरूको जमानत जफत भएको हो।

क्षेत्र नम्बर ३ मा १५ जनाको जमानत जफत: झापा क्षेत्र नम्बर ३ मा संविधानसभा सदस्य तथा नेकपा एमालेका उम्मेद्वार हरिबहादुर राजवंशीले ७ हजार ४९२ मत (९.०८ प्रतिशत) प्राप्त गरे पनि जमानत जोगाउन सकेनन्।नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ मत (९.९३ प्रतिशत) पाए पनि १० प्रतिशत नपुग्दा जमानत जफत भएको छ। नेपाल मजदुर किसान पार्टीकी धर्मलक्ष्मी दुवालले १० मत (०.०१ प्रतिशत), मंगोल नेसनल अर्गनाइजेशनका यामकुमार श्रेष्ठले ३८० मत (०.४६ प्रतिशत), श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ मत (८.८९ प्रतिशत) प्राप्त गरे । त्यस्तै जनमत पार्टीका हर्षलाल राजवंशीले ३५४ मत (०.४२ प्रतिशत), जनता समाजवादी पार्टीकी विनिता राजवंशीले १२६ मत (०.१५ प्रतिशत) र नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले १ हजार ४५० मत (१.७५ प्रतिशत) पाएपछि उनीहरूको जमानत जफत भएको छ ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबाहेक अन्य उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

क्षेत्र नम्बर ४ मा १३ जनाको जमानत जफत: झापा क्षेत्र नम्बर ४ मा १३ जनाको जमानत जफत भएको छ ।राप्रपाका पूर्वकोशी प्रदेशमन्त्री भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत (२.६९ प्रतिशत) मात्रै प्राप्त गरे। उज्यालो नेपाल पार्टीका सन्तोष तामाङले ४३२ मत (०.५६ प्रतिशत), जनता समाजवादी पार्टी नेपालका पलटन ताजपुरियाले ५४ मत (०.०७ प्रतिशत) प्राप्त गरेका छन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका किरण लिम्बू लिङ्देनले १४१ मत (०.१८ प्रतिशत), नेकपा माओवादीका ताराबहादुर थापाले १२५ मत (०.१६ प्रतिशत), राष्ट्रिय मुक्ति पार्टी नेपालका त्रिनारायण राजवंशीले ९८ मत (०.१२ प्रतिशत) पाए।
श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१ मत (९.२९ प्रतिशत) प्राप्त गरे पनि १० प्रतिशत मत नपुग्दा उनको पनि जमानत जफत भएको छ।

क्षेत्र नम्बर ५ मा पनि धेरै उम्मेदवारको जमानत जफत: झापा क्षेत्र नम्बर ५ मा पनि अधिकांश उम्मेद्वारले १० प्रतिशत मत प्राप्त गर्न सकेनन्। त्यहाँ २२ जनाको जमानत जफत भएको छ । नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चियरियाले १ हजार ८२१ मत (१.७७ प्रतिशत), नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले १ हजार ४६१ मत (१.४२ प्रतिशत) पाएपछि उनीहरूको जमानत जफत भएको छ। पिपुल फस्ट पार्टीका धर्मराज गुरागाईंले ३४ मत (०.०३ प्रतिशत), राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५३६ मत (१.५० प्रतिशत), मंगोल नेसनल अर्गनाइजेशनका सानबहादुर मेचेले १६६ मत (०.१६ प्रतिशत) प्राप्त गरे।

यसैगरी जनमत पार्टीका अमृतलाल महत्तोले २९६ मत (०.२८ प्रतिशत), राष्ट्रिय मुक्ति पार्टी नेपालका अमृत रसाइलीले ३५ मत (०.०३ प्रतिशत), स्वतन्त्र उम्मेदवार शोभा भण्डारीले ८२ मत (०.०८ प्रतिशत) र नेकपा माओवादीका सञ्जय राईले ७६ मत (०.०७ प्रतिशत) प्राप्त गरेका छन्।