एजेन्सी । इरानका सर्वोच्च नेता अलि खामेन्नी छोरा मोज्तबा खामेनी देशको नयाँ सर्वोच्च नेतामा चयन भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८८ जना मौलवी सम्मिलित सभाले उनलाई निर्वाचित गरेको हो।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा अली खामेनी मारिएपछि नेतृत्व रिक्त भएको थियो। सुरक्षा संवेदनशीलताका कारण विज्ञ सभाका सदस्यहरूले टाढैबाट मतदान गरेको जनाइएको छ। मंगलबार इजरायलले कोम सहरस्थित सभाको भवनमा हवाई आक्रमण गरी प्रक्रिया अवरुद्ध गर्ने प्रयास गरेको भए पनि त्यहाँ कोही उपस्थित नभएकाले मानवीय क्षति नभएको बताइएको छ। भवन भने पूर्ण रूपमा ध्वस्त भएको विवरण छ।
यसैबीच, दिवंगत खामेनीको अन्त्येष्टि मशादस्थित इमाम रेजाको दरगाह नजिकै गरिने इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्। औपचारिक घोषणा अन्त्येष्टिपछि मात्र गरिने बताइएको छ। चार दिनमा इरानका १५३ सहरका ५०४ स्थानमा १,०३९ पटक आक्रमण भएका छन्। ती हमलामा ७८७ जनाको मृत्यु भएको दाबी गरिएको छ। अमेरिकाले पनि आफ्ना ६ सैनिक मारिएको पुष्टि गरेको छ।
जारी युद्धमा अमेरिका र इजरायलले इरानका सैन्य, परमाणु तथा रणनीतिक संरचनामा आक्रमण जारी राखेका छन् भने इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र दूतावास लक्षित प्रतिआक्रमण गरिरहेको छ। इजरायलमाथि गरिएको इरानी क्षेप्यास्त्र आक्रमणमा दर्जनौंको मृत्यु र सयौं घाइते भएको विवरण सार्वजनिक भएको छ।
इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकी सैन्य कमान्ड युनाइटेड स्टेट सेन्टर कमान्डका कमान्डरले भिडियो सन्देशमार्फत युद्ध सुरु भएदेखि १७ इरानी सैन्य जहाज र एउटा पनडुब्बी नष्ट गरिएको दाबी गरेका छन्। उनका अनुसार अरब खाडी, स्ट्रेट अफ होर्मुज वा ओमान क्षेत्रमा हाल कुनै पनि इरानी युद्धपोत बाँकी छैन। इरानले पनि हालसम्म ५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र २,००० ड्रोन प्रहार गरिसकेको जनाएको छ। युद्ध चर्किँदै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ।



















































