बिर्तामोड । रिपोर्टिङका क्रममा झापाको कमल गाउँपालिकामा पत्रकार अर्जुन आचार्यमाथि आक्रमणको घटना विभिन्न संघसंस्थाले बिरोध गरेका छन् ।
बिहीबार पत्रकारमाथि भएको घाटनापछि पेशागत संगठनहरुले घटनामा संलग्न एमाले कार्यकर्तालाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ मोरङ, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापा, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति मोरङ, मिडिया एक्सन लगायत विभिन्न संघसंस्थाले घटनाको विरोध दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । पत्रकारमाथिको आक्रमण र लुटपाट निन्दनीय भएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण बन्द गर्न उनीहरुले चेतावनी दिएका छन् ।
रातोपाटी अनलाइनका संवाददाता तथा हाम्रोमतका कार्यकारी सम्पादक अर्जुन आचार्यलाई बिहीबार झापाको कमल गाउँपालिकामा रिपोर्टिङ गर्ने क्रममा नेकपा एमालेको भोलेन्टियर फोर्सका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । आक्रमणको क्रममा पत्रकार आचार्यको गाला, आँखा तथा ढाडमा चोट लागेको छ । आक्रमणकारीले पत्रकार आचार्यको चस्मा फुटाइदिनुका साथै मोबाइल लुटेर लगेका थिए ।





















































