झापा । स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै गरेको वार्षिक १ लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधालाई यथावत कायम गर्ने स्पष्ट पारेको छ। १ लाख बराबरको सुबिधा पाउँदै आएका बीमितको सुबिधा कटौती गर्ने बिषय बीमा बोर्डले सूचना प्रकाशन गरेको थियो ।  
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बीमा कार्यक्रममा सहभागी परिवारले तिर्ने ३ हजार ५ सय रुपैयाँ योगदानका आधारमा वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सेवा यथावत् उपलब्ध बताएको हो । उक्त सुविधा ५ जनासम्मका परिवारले पाउने व्यवस्था रहेको छ।
बोर्डले कुल १ लाख रुपैयाँमध्ये २५ हजार रुपैयाँ ओपीडी सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न मिल्ने गरी सीमा निर्धारण गरेको जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ६ जनासम्मको परिवारका लागि ३ हजार ५ सय रुपैयाँ योगदानमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । साथै, थप प्रत्येक सदस्यका लागि ७ सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा वृद्धि हुने प्रावधान रहेको छ।
बोर्डले अनावश्यक रूपमा हुने ओपीडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगहरूको उपचारका लागि स्रोत सुनिश्चित गर्न सेवा रकम छुट्याइएको जनाएको छ। सोही अनुसार सेवा प्रयोग गर्न बोर्डले आग्रह गरेको छ।
स्वास्थ्य बीमाको कुल बजेटको ७० प्रतिशतभन्दा बढी हिस्सा सामान्य बिरामीको ओपीडी सेवामै खर्च भइरहेको जनाउँदै सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बीमाको रकम प्रभावकारी रूपमा खर्च होस् भन्ने उद्देश्यले ओपीडी, अस्पताल भर्ना र शल्यक्रियाजस्ता शीर्षकमा छुट्टाछुट्टै सीमा तोकिएको जानकारी दिए ।