धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा सञ्चालित फार्मेसीमा ५० लाख रुपैयाँभन्दा बढीको औषधि हिनामिना भएको खुलेको छ। प्रतिष्ठानको प्रारम्भिक छानबिनमा निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, कर्मचारी विवेक दाहाल र केटीएम सेक्युरिटी प्रालिको संलग्नता देखिएको छ।
रजिस्ट्रार सूर्यप्रसाद संग्रौलाले दोषीमाथि कारबाहीका लागि विशेष छानबिन समिति गठन हुँदै गरेको जानकारी दिए। प्रारम्भिक परीक्षणमा करिब ३६ लाख रुपैयाँको औषधि फेला नपरेको, ४ लाखको हिसाब गडबडी र १४ लाखभन्दा बढी मूल्यको औषधि म्याद सकिएको अवस्थामा भेटिएको छ।
घोटाला सार्वजनिक भएपछि प्रतिष्ठानले फार्मेसी बन्द गरेको छ, जसका कारण बिरामीहरू बाहिरी मेडिकलबाट महँगो दरमा औषधि किन्न बाध्य छन्। स्वास्थ्य बीमाका बिरामीलाई निःशुल्क औषधि सेवा पनि ठप्प भएको छ।