काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा भएको पूर्वाधार क्षतिलाई तत्काल पुनर्निर्माण गर्ने बताएका छन् । उनले देशलाई विद्युतीय सवारीसाधनको युगमा प्रवेश गराउने निर्णय गरेका छन् ।
मन्त्री घिसिङले सोमबार पदभार ग्रहणका क्रममा विद्युतीय सवारीसाधनको प्रवर्द्धन र चुनौती समाधानका लागि सात दिनभित्रै कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गरेका छन् । कुलमानले विद्युतको खपत बढाउन भन्दै इन्धन सवारीलाई अब विद्युतीयमा कन्भर्ट गर्नुपर्ने र विद्युतको खपत बढाउने गरी पूर्वाधार बनाउनुपर्ने उनको भनाइ थियो ।
‘हामीसँग विद्युत छ । प्राविधिक र म्यानेजरियल समस्या होलान् । त्यसलाई समाधान गर्दै पेट्रोल, डिजल र ग्यासको इम्पोर्ट घटाउँदै लैजानुपर्छ । जसले आयात खर्च रोकिन्छ र विद्युतको खपत बढ्छ । त्यसले क्लाइमेट चेन्जमा ठुलो इम्प्याक्ट ल्याउँछ,’ मन्त्री घिसिङले भने, ‘सवारीसाधन र भान्छामा विद्युत प्रयोग गर्नासाथ धेरै कुरा समाधान हुन्छ । त्यसका लागि पूर्वाधार बनाउनुपर्छ ।’ मन्त्री घिसिङले सबै कुरा विद्युतबाट चलाउँदा देशलाई लाभ हुनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।





















































