काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरेका छन् । बैठकमा नयाँ सरकार गठनदेखि काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाट जेनजीलाई आग्रह गरिएको हो । प्रदर्शनकारीलाई संयमित हुन र वार्तामा आउन आग्रह गरिएको राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि नेपाली सेनाले पनि जेनजीलाई वार्ताको माध्यमबाट सामाधान गर्न आह्वान गरेको थियो ।
सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको बैठकमा छलफलबाट वार्ताबाटै समाधान निकाल्नुपर्ने गरी आएसँगै बार्ताको लागि आह्वान गरिएको हो ।
नेपाली सेनाले समेत विभिन्न पक्षसँग समेत छलफल गरेको छ । सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भएका थिए ।

मंगलबार त्यसको विरुद्धमा भेला भएका प्रदर्शनकारीले सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका थिए । त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा आगजनी भएको थियो ।
तनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’

यता जेनजीले आफ्ना माग अघि सारेको पाइएको छ ।
अहिलेको परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।





















































