विर्तामोड । नेपालमा तत्कालीन माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही दुवै पक्षले वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरिएको छ । वेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने जीवित भए सास, निधन भए लास र दिवंगत भएको तिथि, मिति पीडित परिवारलाई जानकारी गराउनु पर्ने माग गरिएको हो ।
अन्तर्राष्ट्रिय वेपत्ता दिवसमा बिर्तामोडमा वेपत्ताको नाममा आयोजित सामूहिक दीप प्रज्वलनपछि सहभागीहरुले देशमा शान्ति सम्झौंता र लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आएपनि वेपताको अवस्था सार्वजनिक नगर्नु राज्यको गैर जिम्मेबारीको परकास्ट भएको औल्याएका थिए । सशस्त्र द्वन्द्वकालमा झापाका ३३ जनासहित देशभरबाट १३२३ जना वेपत्ता पारिएका थिए ।
देश शान्तिपूर्ण राजनीतिमा फर्किएको १९ वर्ष वितेपनि राज्यले वेपताको अवस्था सार्वजनिक नगर्नुले आशंका उत्पन्न भएको उल्लेख गरेका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र वेपत्ता परिवार झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको समन्वयमा बिर्तामोडको मुक्तिचोकमा सामूहिक दीप प्रज्ज्वलन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले द्वन्द्व समाप्त भएको १९ वर्षसम्म पनि वेपत्ताका बारेमा केही पनि सार्वजनिक नहुनु दुःखद भएको बताउँदै अवस्था सार्वजनिक गरेर पीडितको पीडामा मल्हमपट्टी लगाउन सरकारलाई आग्रह गरे । वेपत्ता पारिएका आफन्तको अवस्था जान्न पाउने पीडित परिवारको अधिकार भएको उल्लेख गरेका थिए ।
त्यस्तै बेपत्ता परिवार झापाका अध्यक्ष डिल्ली रिजालले द्वन्द्व सकिएको दुई दशक भएपनि आफन्त गुमाएको पीडा उस्तै रहेको बताउँदै अवस्था सार्वजनिक गर्न माग गरे । ‘जीवित हुनुहुन्छ भन्ने त हामीलाई पनि आस छैन, राज्यले अवस्था जानकारी गराइदिए कम्तीमा आ–आफ्नो संस्कार अनुसार केही गर्न त पाउँथ्यौं ’रिजालको गुनासो थियो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालले वेपत्ताको अवस्थासमेत जानकारी नपाउनु दुःखद रहेको बताए । वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्नका लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।रेडक्रस सोसाइटीका महामन्त्री चन्द्र चुडालले सहजीकरण गरेको अन्तरक्रिया तथा दीप प्रज्ज्वलन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।
‘जान्न पाउने अधिकार, उनीहरु बिर्सिएका छैनन्, परिवारले जवाफ पाउनै पर्छ, खोजी जारी छ, नाराका साथ यसवर्षको अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइएको छ । सरकारको नेतृृत्व गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वेपत्ताको अवस्थाबारे चासो नदेखाएको पीडित परिवारको गुनासो छ ।





















































