बिर्तामोड । कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा ७० वटा विद्यालयका एकलाखबढी  विद्यार्थीले सहभागिता  जनाउने भएका छन् । 

नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीको आयोजनामा हुन लागेको प्रर्दशनीमा कोशी प्रदेशमा रहेका १२ जिल्लाका ७० विद्यालयले सहभागिता जनाउने भएका हुन । 

झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा जेठ २४ देखि २६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा झापाका माध्यमिक तहका तीन सय ९६ विद्यालयका विद्यार्थी सहित कोशी प्रदेशका एक लाख भन्दा बढी विद्यालर्थीले प्रर्दशनीको अवलोकन गर्ने आयोजककाे दावी छ । 

वुधवार प्रर्दशनीस्थल देवी माध्यमिक विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रर्दशनीको स्टल निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । 

प्रर्दशनीमा अप्रतियोगी २० वटा सशुल्क स्टलहरु रहने छन् भने एक सय बढी स्टल राखिने कार्यक्रम रहेको नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले  जानकारी दिए ।  

पोखरेलका अनुसार प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद ४ लाख, द्वितीय हुनेलाई तीन लाख, तृतीय हुनेलाई दुई लाख र सान्तवना पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिने छ । त्यस्तै  प्रतिभा प्रोत्साहन पुरस्कार २५ वटा प्रदर्शनीलाई नगद २५ हजार रुपैयाँका दरले प्रदान गरिनेछ । 

विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधि सम्वन्धि खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने, विद्यार्थीका मैलिक प्रकृतिका आविस्कार तथा अन्वेषणलाई प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले कोशीका इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले प्रर्दशनी सबैको साझा भएकाले अवलोकनका लागि आग्रह गरेका छन् । 

प्रदर्शनी सम्पन्न गर्न ४४  लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खर्च व्यवस्थापनका लागि कन्सलट्यान्सी सहितका २० वटा स्टलबाट एक लाख रुपैयाँका दरले २० लाख , झापाका १५ वटा स्थानीय तह र अन्य विभिन्न संघ संस्थासंग सहकार्य गरिने छ ।