हल्दिबारी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले जनप्रतिनिधिको सपना, योजना इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताएका छन् ।
झापाको हल्दिबारी गाउँपालिका वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा नवनिर्मित पुलको उद्घाटनपछि प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद लिङ्देनले उक्त कुरा बताएका हुन् ।

आम सर्वसाधारणको सर्वाङ्गीण विकासका लागि हल्दिबारीले फड्को मारेको भन्दै उनले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उनले २०७६ सालमा पुर्वाधार बिकास मन्त्रालयले २९ करोड ५० लाखको डिपिआर तयार गरेको उक्त पुल गाउँपालिकाले ५ करोड ५० मा निर्माण पूरा गरेको बताए ।

दुई करोड ३० लाखमा निर्मित पुलको लम्बाइ ४२.७ मिटर र चौडाइ ७.२ मिटर रहेको छ । सारा सृष्टि निर्माण सेवा प्रालिले पुल निर्माण गर्न ठेक्का पाएको थियो । इमानदारीताका साथ लागिपर्दा गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्न सफल भएकोमा निर्माण कम्पनीलाई धन्यवाद दिएका थिए ।

कम्पनी सारा सृष्टिले गत २०७९ मङ्सिर ७ गते हल्दिबारी गाउँपालिकासँग सम्झौता गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको बताए । यससँगै भुसुडी खोलामा थप दुईवटा पुल निर्माण सम्पन्न हुन लागेको उनलए बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागत र समयमै पुल निर्माण हुनु सुखद् रहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले स्वागत सम्मान गर्दै भुतेनी खोलामा एउटा र भुसुडी खोलमा दुईवटा चार करोड ९६ लाख ८५ हजार ९२८ को लागत निर्माण भएको जानकारी गराएका थिए ।
पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिकासँग हल्दिबारी–१ र ५ को उक्त सडक खण्ड कालोपत्रेको योजना सुरु गरिएको जानकारी दिए ।

पुलसँगै कालोपत्रे निर्माणपछि त्यहाँका सयौं सर्वसाधारण लाभान्वित हुनेछन् ।
गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।