काँकरभिट्टा । झापा मेचीनगर-७ सुन्दर टोलका रुद्रप्रसाद पराजुली (४४) पेशाले प्लम्बर र इलेक्ट्रिसियन दुवै हुन् । आफ्नो बालापनको उमेरदेखि नै उनी उक्त पेशामा सामेल भए । विद्यालय जाने उमेरमा मजदुर गर्दै सीप पेशा गर्न बाध्य बनेपछी ३० बर्षसम्म उनले त्यहीँ पेशाबाटै गुजारा चलाउँदै आए ।

सुरुमा आफुमात्रै थिए । अहिले श्रीमति, दुई छोरी र छोरा गरी पाँच परिवारको गाँस, बास, कपासको जोहसहित शिक्षा, स्वास्थ्य र रोजगारको ब्यवस्थापनमै आफ्नो दैनिकी कटाउँदै आएका छन् ।
`आफ्नो पेशाबाट सन्तुष्ट नै थिएँ । गुजारा राम्रै चलेको पनि थियो ।
कोभिड-१९ पछि घर-भवन निर्माण हुन छोडेपछि सीपसहितको पेशा नै धरापमा पर्दैआयो, उनले भने-`३ वर्षयता आफुले सिकेको पेशाबाट गुजारा चलाउने आधारमा कमी आउँदा परिवार चलाउनै प्रभाव परेको छ ।´

पराजुली प्लम्बर र इलेक्ट्रिसियन सीपमा दक्ष प्राबिधिक हुन् । तर, उक्त पेशा अनुसारको काम पाउन छोडेपछि समस्या आएको हो । हाल फाट्टफुट्ट रुपमा मात्रै काम हुने गरेको उनले बताए । प्रशस्त काम नपाएपछी पराजुलीले ३ वर्ष यता नौ कठा जमिनमा कृषि फर्म गर्दै आएका छन् ।
उनले ऋण गरेर २६ लाख भवन लगानी गरेर बनाएको `असुअम कृषि फर्म´मा अहिले कुखुरा ४ सय ८० वटा लोकल कुखुरा, ३६ वटा खसी-बाख्रा,९ वटा हास र ३ वटा गाईंको स्याहार गर्दै आएका छन् ।

`फर्मलाई अझै आयस्रोतमुलक बनाउन चल्ला उत्पादन गर्ने हेचरी मेसिन पनि राखेका छु । हेचरीको प्रयोगबाट लोकल चल्ला उत्पादन गरेर बिक्री गर्ने सोच बनाएको छु तर, आर्थिक अभावले बिग्रिएको मेसिन बनाउन सकिरहेको छैन ।´
कृषि फर्म जाने बाटोको खाल्डाखुल्डी पुर्न वडा कार्यालयसमक्ष बजेट माग गरेको र आगामी दिनमा कालिज र बंगुर हाल्ने योजना रहेको उनले सुनाए ।