धुलाबारी । संघीय सांसद एबम् नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले देशमा संघीयता आएपछि मात्रै पुर्वाधार विकासक्रमले तीब्रता पाएको बताएका छन् ।
धुलाबारी खानेपानी उपाभोक्ता समितिको २४ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटनपछि प्रमुख अतिथिको रुपमा बोल्दै सांसद शर्माले उक्त कुरा बताएका हुन् ।
उनले देशमा लोकतान्त्रिक ब्यवस्थासँगै आएको संघीयतापछि विकासक्रम पनि वृद्धि भएको बताए । संघीयतापछी स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पुर्वाधार विकास निर्माणका योजनामा बजेट बिनियोजन गरेका कारण देशभर पुर्वाधार विकासले तीब्रता पाएको उनको भनाई थियो ।
उनले प्रधानमन्त्री, सभामुखको क्षेत्र र मेचीनगरमा दुइवटा ठुला विकास गौरवको योजना निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए ।
उनले झापा जिल्लाका सबै पालिकाका जनप्रतिनिधिलाई विकास निर्माणका योजनामा एक भएर अघि बड्न आग्रह गरेका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती पोख्रेलले नगरभित्रका खानेपानी संस्थाले उपभोक्तासँग लिइने शुल्कमा एकरुपता हुनेपर्नेमा जोड दिएकी थिइन् । उनले खानेपानी संस्थालाई ब्यवस्थित गर्न एकीकरण गर्नुपर्नेमा जोड दिएकी थिइन् । 
कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले मेचीनगर पालिकाले खानेपानी संस्था स्वायत्त संस्था भएकाले एकीकरण नगर्न नगरपालिकालाई आग्रह गरेका थिए । चुरेको दोहनका कारण पानीको सहत गहिरिएकाले त्यसलाई ध्यानदिएर बृक्षरोपण गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष राम कट्टेल, नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य सबिता भण्डारी भट्टराई, चारआली शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरियालगायतले बोलेका थिए ।
धनकाजी खत्रीको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा स्वागत उपाध्यक्ष हिमालय आङ्दाम्बेले र सञ्चालन उमानाथ सुवेदीले गरेका थिए ।
२०५२ सालमा स्थापना भएको धुलाबारी खानेपानी संस्थाको धारा बिस्तार तथा थप ब्यवस्थापनका लागि बिश्व बैंकमार्फत नेपाल सरकारबाट २० करोड बजेट बिनियोजन गरेको छ भने ६ हजार दुइसय ४५ धारा सदस्य रहेको जनाएको छ ।