काठमाडौं । विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको बेला कृत्रिम बौद्धिकता (एआई) युद्धको नयाँ प्रकरणले अहिले विश्वभरि हङ्गामा मच्चाइ रहेको छ । नयाँ चिनियाँ ‘च्याटबोट एप्स’ ‘डिपसिक’ले सुरु भएको छोटो समयमै अमेरिकी एआई कम्पनीका सेवालाई व्यापक प्रतिस्थापन गरेपछि यो स्थिति आएको हो ।
चिनियाँ कम्पनीको नयाँ च्याटबोट ‘डिपसिक’ जनवरी १० मा लञ्च भएको थियो । तर, १ महिना नबित्दै यसले व्यापक प्रभाव देखाएको छ । लञ्च भएको १८ दिनभित्रै १ करोड ६० लाखभन्दा बढी प्रयोगकर्ताले डिपसिक डाउनलोड गरे । डिपसिक डाउनलोड ट्रेन्डिङ चीनमा मात्रै हैन, अमेरिका, युरोप र अष्ट्रेलियामा समेत प्रथम स्थानमा देखियो ।
डिपसिकको प्रभाव जनवरी २६ मा विश्वले राम्ररी बुझ्यो, जब अमेरिकी एआई निर्माता कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट देखा पर्यो । यो लञ्च हुनु अघि अमेरिकी एआई च्याटबोट च्याटजिपिटी, जैमिनी बढी लोकप्रिय थिए ।
के हो एआई च्याटबोट ?
मान्छेको ज्ञान, प्रतिभा र बौद्धिकताले गर्ने कुनै काम वा सृजना कम्प्युटर प्रणालीबाट गर्न सकिने प्रविधिलाई कृत्रिम बौद्धिकता अर्थात आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) भनिन्छ । एआई सेवा प्रदान गर्ने एप्सलाई च्याटबोट भनिन्छ ।
एआई सेवा उपभोक्ताले च्याटबोटमा आफ्नो मनमा उत्पन्न भएका जुनकुनै जिज्ञासाबारे प्रश्न गर्न सक्दछन् । च्याटबोटलाई कुनै आदेश वा काम अह्राउन सक्दछन् । जस्तो कि कुनै विषयमा कविता, कथा वा निबन्ध लेख्न, सिनेमाका दृष्यको परिकल्पना गर्न, फोटो परिकल्पना गर्न आदि । अर्थात् एआईले भाषा, साहित्य, सङ्गीत, सिनेमा र अभिलेख जस्ता क्षेत्रमा मानवीय प्रतिभासरह वा अझ प्रभावकारी ढङ्गले काम गर्दछ ।
एआई च्याटबोटले प्रयोगकर्ताका यस्ता जिज्ञासा, प्रश्न वा मागको छोटो समयमै निरन्तर उत्तर दिइरहन्छ । र, ती उत्तर वा सृजना सत्यको नजिक हुन्छन् वा कुनै प्रतिभाशाली व्यक्ति वा विशेषज्ञलाई स्रोत बनाउनुभन्दा बढी आधिकारिक हुन्छन्, मान्छेलेभन्दा राम्रो गरी सृजना गर्न सक्दछ भन्ने विश्वास गरिन्छ ।
मान्छेले जस्तै सिक्न, सिकाउन, सृजनशील कार्य गर्न सक्ने प्रविधि एआई हो । यो सेवा उपलब्ध गराउने डिजिटल एप्सलाई च्याटबोट भनिन्छ । एआई कम्पनीले च्याटबोटका आफ्नै नाम दिएर ब्रान्डिङ गर्दछन् । च्याटजिपिटी, जैमिनी, एनभिडी त्यस्तै ब्रान्ड हुन् भने डिपसिक एक चिनियाँ कम्पनीले लञ्च गरेको नयाँ च्याटबोट हो ।
डिपसिकको पृष्ठभूमि
अमेरिकाले चीनमाथि दशकौँयता प्रविधि चोरीको आरोप लगाउँदै आएको थियो । अमेरिकी वैज्ञानिक र अनुसन्धानकर्ताले वर्षौं समय र करोडौँ डलर लगानी गरेर पत्ता लगाएका प्रविधि चीनले केही छोटो समयभित्रै नक्कल गर्ने र अमेरिकी कम्पनीले भन्दा सस्तो मूल्यमा उत्पादन गरी विश्व बजारमा आपूर्ति गर्ने गरेको थियो ।
यही कारण देखाएर अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२२ अक्टोबर ७ मा एआई बनाउन आवश्यक पर्ने चिप्स चीनमा निर्यात गर्न प्रतिबन्ध लगाएका थिए । एआई चिप्समा अमेरिकी प्रतिबन्धपछि चिनियाँ इलेक्ट्रोनिक इन्जिनियरले आफैँ यस क्षेत्रमा काम अघि बढाए ।
डिपसिक कम्पनी सन् २०२३ जुलाई १७ मा अर्थात १८ महिना अघि मात्र स्थापित भएको हो । स्थापनाको १८ महिनाभित्रै यसले अमेरिकी एआई कम्पनीहरूलाई ठूलो नोक्सानीको अवस्थामा पुर्याइ दिएको छ ।
कसरी सम्भव भयो ?
अमेरिकाले एआई चिप्स निर्यात प्रतिबन्ध गर्नु अघि नै चीनमा एनभिडी चिप्सहरूको उल्लेखनीय भण्डारण भइसकेको थियो । चिनियाँ अनुसन्धानकर्ता र इन्जिनियरहरूले प्रविधि बुझेका थिए । साथै तिनले अमेरिकी कम्पनीसँग सहकार्य गरिरहेका थिए । प्रतिबन्धपछि सहकार्य टुट्यो र तिनले भिन्नै अनुसन्धान योजना बनाए ।
डिपसिक कम्पनीको प्रमुख कार्यालय तथा ल्याब चिनियाँ राज्य झेजियाङको राजधानी शहर हाङ्जाउमा स्थापित छ । डिपसिक च्याटबोटको विकास गर्न यस कम्पनीमा २०० इलेक्ट्रोनिक इन्जिनियरले प्रोग्रामिङ गरेका थिए । चिनियाँ प्रदेश सरकारले डिपसिक कम्पनीलाई पृष्ठपोषण गरिरहेको थियो ।
कम्पनीका सिइओ भने ३९ वर्षीय चिनियाँ इन्जिनियर लियाङ वेनफेङ हुन् ।
को हुन् लियाङ ?
डिपसिकका कार्यकारी निर्देशक लियाङ सन् १९८५ मा एक ग्रामीण क्षेत्रमा जन्मिएका थिए । उनका मातापिता शिक्षक-शिक्षिका थिए । उनले झेजियाङ विश्वविद्यालयबाट इलेक्ट्रोनिक इन्जिनियरिङमा मास्टर्स गरेका छन् ।
उनले सन् २०१३ बाट एआई प्रविधिको क्षेत्रमा काम गर्न थालेका थिए । सन् २०१५ मा आफ्ना कलेज मित्रहरूलाई साझेदार बनाएर हाङ्जाउ टेक्नोलोजी कम्पनी लिमिटेड स्थापना गरे । प्रतिबन्ध अघि उनले अमेरिकी एआई कम्पनी एनभिडीसँग सहकार्य गरेका थिए । अमेरिकी प्रतिबन्ध अघि नै उनले करिब १० हजार चिप्स सङ्ग्रह गरेका थिए ।
हङ्गामाको कारण
हङ्गामाको मुख्य कारण भने अमेरिकी च्याटबोट च्याटजिपिटीभन्दा डिपसिक धेरै सस्तो हुनुलाई मानिएको छ । चिनियाँ इन्जिनियरहरूले डिपसिक च्याटजिपिटीभन्दा १० गुणा सस्तो हुने गरी डिजाइन गरेका छन् । यसको कारण भने अनुसन्धानलागत कम हुनु हो ।
अमेरिकी कम्पनीले कयौँ मिलियन डलर खर्च गरेर यी प्रविधि विकास गरेका थिए । चिनियाँ अनुसन्धानमा प्रविधि नक्कलको मात्रा बढी भएको हुँदा लागत कम भएको अनुमान छ ।कतिपयले च्याटजिपिटीको भन्दा डिपसिकको सेवा बढी प्रभावकारी भएको समेत बताएका छन् ।
डिपसिकका सीमा
प्रयोगकर्ताले छोटो समयमै डिपसिकका सीमा बुझ्न थालेका छन् । मूलतः यसले चीन, साम्यवादी विचारधारा र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासबारे सही सूचना नदिने, टार्ने र कुरा तर्काउने गरेको छ ।
जस्तो कि चीनको त्यानआनमेन स्क्वाएरमा सन १९८९ मा के भएको थियो ? भनेर सोध्दा यसले ‘कृपया यसबारे बताउन असमर्थ छु’ भन्ने उत्तर दिने गरेको छ । अर्थात् डिपसिक चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको सोच र हितअनुरूप डिजाइन गरिएको हुँदा यसको निष्पक्षता र तटस्थताबारे आशङ्का उब्जिएको छ ।
चीन, कम्युनिष्ट विचारधारा र इतिहास बाहेकका विषयमा भने यसको सेवा राम्रो भएको बताइन्छ ।
अब के होला ?
सन् १९५६ देखि नै वैज्ञानिकहरूले एआईको क्षेत्रमा काम गर्न थालेका थिए । तर, एआईको विकासमा सन् २०१५ पछि उल्लेखनीय उपलब्धि हासिल भयो, जब गुगलले ‘अल्फा गो एआई सिस्टम’ विकास गर्यो ।
सन् २०१९ मा ओपन एआई कम्पनीले च्याटजिपीटीबाट व्यावसायिक सेवा दिन थालेपछि यसको प्रयोग व्यापक हुँदै गएको थियो ।
डिपसिक प्रारम्भ हुनुअघि एआई च्याटबोट सेवामा अमेरिकी कम्पनीहरूको एकाधिकार थियो । अब तिनले चीनसँग मूल्य तथा सेवा गुणस्तरमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।
तत्काललाई अमेरिकी एआई कम्पनीको सेवा बजार अंश सङ्कुचन र सेयर मूल्य गिरावट भएको छ । साथै अब डिपसिकका कारण तिनले मूल्य पुनरावलोकन गर्नुपर्ने छ । डिपसिकका सीमाको कारण अमेरिकी कम्पनीको बजार समाप्त भइहाल्छ भन्न सकिन्न ।
अमेरिकी सरकारले आफ्ना एआई कम्पनीको संरक्षणका लागि कुनै विशेष कदम चाल्न र नीति लिन सक्ने छ । जे होस्, प्रतिस्पर्धाको कारण विश्व बजारमा एआई सेवाको मूल्य सर्वसाधारणको पहुँचसम्म आइपुग्ने सम्भावना भने बढ्ने छ ।
श्रोत:एजेन्सी