बिर्तामोड । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले वीरता रिडर्सद्वारा आयोजित किताब मेलामा युवाको आकर्षण बढेको छ । झापाको बिर्तामोडमा असोज ८ गतेदेखि सञ्चालन गरेको ‘किताब मेला’मा युवाहरुको आकर्षण बढेको आयोजकले जनाएको छ । मेलामा नेपालका विभिन्न जिल्लाका साहित्यकार, कवि, सर्जक, पत्रकार, रचना तथा कलाकार, स्कुल र कलेजका विद्यार्थी एबम् बौद्धिक जमातको घुइँचो लागेको छ । मेलामा पुस्तक लेखक, सम्पादकको पनि उत्तिकै आकर्षक बढेको रिडर्स झापाका आयोजक संस्थाका संयोजक तीर्थ सिग्देलले जानकारी दिए । मेलामा विशेष गरी कलेजका विद्यार्थी र कर्मचारीहरुको आकर्षण रहेको उनले सुनाए । उनका अनुसार युवामा अंग्रेजी लेखकका ‘सेल्फहेल्प’ पुस्तक र भागवत गीतामा आकर्षण रहेको संयोजक सिग्देलको भनाई छ ।
नेपालका विभिन्न ठाउँ र भारत सिलिगुडीबाट पनि पुस्तक पढ्न मेलामा सहभागिता बढिरहेको आयोजकले जनाएको छ । भारतका लेखक डा. कृष्णराज घतानीले सहभागिता जनाउँदै किताब मेलाको प्रशंसा गरेका छन् । मेलामा प्रसिद्ध कवि नवराज पराजुली, ‘छापामारको डायरी’की लेखिका तारा राई, गोपालकुमार बस्नेत, लीला अनमोल लगायत सर्जकहरुको उपस्थिति रहँदै आएको छ । मेलामा झापाली स्रष्टाहरुको पुस्तकको स्टल छुट्टै राखिएको छ । झापाली स्रष्टाको पुस्तकमा चाहिँ कविता र गजल संग्रहको खोजी हुने गरेको छ। जीवनमा सकारात्मक परिवर्तन चाहने र लेखन यात्रालाई गतिशील बनाउन चाहनेहरुको विशेष उपस्थिति मेलामा रहँदै आएको व्यवस्थापकीय पाटो सम्हाल्दै आएको इसा बुक्स एन्ड स्टेशनरीका सञ्चालक समेत रहेका केशव मैनालीले जानकारी दिए । वर्षाका कारण मेलामा केही असजिलो भएपनि पानी रोकिनासाथ पाठकहरुको भीड बढेको उनले बताए । मेलामा शिक्षक तथा सरकारी कर्मचारीहरुको भने एकदमै न्यून उपस्थिति रहेको आयोजकले जनाएको छ ।घर तथा संघसंस्थामा मिनी लाइब्रेरी स्थापना गरौं भन्ने अभियान सञ्चालन गर्ने र दशैंको कोसेली किताब भन्ने नारासहित सञ्चालित मेला असोज २३ गतेसम्म सञ्चालन हुनेछ । सो अवधिभर साहित्यसम्बन्धी विभिन्न अन्तरसंवादका कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ । संयोजक तीर्थ सिग्देलका अनुसार यस किसिमको गतिविधिलाई बढाउन सके पाठक अझ थपिन सक्छन् ।
आफूलाई सफल कसरी बनाउने भन्ने बारेमा लेखिएको अंग्रेजी किताब र नेपालीमा अनुवादित किताबको खोजी बढी भइरहेको वीरता रिडर्सका सहसंयोजक केशव मैनालीको भनाई छ ।
तस्बिरहरु:































































