झापा । नेपालको नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आज शपथ लिने कार्यक्रम छ । शपथ ग्रहण बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेको बहुमत सांसदबाट नयाँ सरकारको समीकरण अघि बढाएको हो ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गरेका हुन् ।



















































