इलाम । आज इलाम-२ मा उपनिर्वाचन अन्तरगत मतदान सुरु भएको छ । इलाम-२ बाट निर्वाचित प्रतिनिधि पुर्वसभमुख सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचनका क्रममा शनिबार मतदान सुरु भएको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा राजनीति दलका उम्मेदवारले मतदान गरिसकेका छन् । मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका छन् भने नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् । उनी स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका ९३ स्थित सिंहदेबी म. बि. शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।
निर्वाचन आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।



















































