झापा । झापाको मेचीनगरमा आयोजित एक कार्यक्रममा १२० वर्षीया ज्येष्ठ नागरिक पोहानी राजबंशी सोमबार सम्मानित भएकी छन् । पोहानी राजबंशी मेचीनगर -७ निवासी हुन् । राजबंशीसंगै १०४ बर्षीया जुनधारा पोखरेल पनि सम्मानित भएकी छन् । उनी मेचीनगर- ६ निवासी हुन् ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघले जेष्ठ नागरिकद्वायलाई सम्मान गरेको हो । संघको मेचीनगर कमिटीद्वारा काँकरभिट्टामा आयोजित तीज मिलन कार्यक्रममा जेष्ठ नागरिकद्वाय राजबंशी र पोख्रेललाई विशेष सम्मान गरिएको हो ।
सम्मानितद्वायमध्ये राजबंशी १२० बर्षीया भएकाले देशकै जेष्ठ नागरिक भएको सहभागी बक्ताले आफ्नो धारणा राखेका थिए । संघकी अध्यक्ष जानुका ओलीले पोहानी राजवंशी मेचीनगरको मात्र नभएर मुलुककै ज्येष्ठ नागरिक भएको बताइन् ।
सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाईँले अनेमसंघले ज्यूँदा इतिहासको सम्मान गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले देशकै जेष्ठ नागरिकलाई सम्मान गर्नपाउँदा धेरै खुसी भएको धारणा राखेकी थिइन् ।
राजबंशी भाषा मात्र बोल्ने १२० वर्षीया जेष्ठ नागरिक पोहानीले जीवनमा पहिलो चोटी सम्मानित हुन पाउँदा खुशी लागेको बताइन् । पोहानी राजबंशी मेचीनगर–७ स्थित मदन वस्तीमा जेठो छोरा फतलाल राजवंशीसँग बस्दै आएकी छन् ।
१०४ वर्षीया जुनधारा पोखरेल मेचीनगर- ६ स्थित काँकरभिट्टामा साइलो छोरा गणेश पोखरेलसँग बसोवास गर्दै आएकी छन् । कार्यक्रममा महिलाहरुले तीजका गीतमा छमछमी नाचेर सामूहिक दर समेत खाएका थिए ।
कार्यक्रममा सचिव अनिता गुरागाईँ र स्वागत मन्तव्य हेमा शिवाकोटीले गरेकी थिइन् ।
लोकतन्त्र पोस्टबाट





















































