मेचीनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले पत्रकार पक्राउ प्रकरणमा सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् । प्रहरीले पत्रकार पक्राउ गर्ने र सरकारले आफूलाई केही थाहा नभएको भन्दै रिहाइको आदेश दिने प्रवृत्तिमाथि उनले गम्भीर प्रश्न उठाएका छन् ।
झापाको मेचीनगर–६ काँकरभिट्टामा आयोजित जिल्ला स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले सरकार र नेपाल प्रहरीबीच समन्वयको अभाव देखिएको टिप्पणी गरे ।
‘प्रहरीले पत्रकार पक्राउ गर्ने, अनि सरकार आफूलाई केही थाहा छैन भन्दै रिहा गर्न आदेश दिने कस्तो आश्चर्यजनक कुरा छ,’ उनले भने ।
सवारी दुर्घटना हुँदा टायरलाई नभई चालकलाई कारबाही गरिएझैँ पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरीले गरेको व्यवहारको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ थियो ।
शुक्रबार प्रहरीले केही पत्रकारलाई विनापुर्जी पक्राउ गरेको र सादा पोशाकमा सञ्चारमाध्यमका कार्यालयमा पुगेर त्रसित बनाएको घटनाको अध्यक्ष राईले कडा निन्दा गरे । उनले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणका रूपमा व्याख्या गर्दै व्यापक आलोचना गरे ।
अध्यक्ष राईले देशको शासन तथा प्रशासनिक संयन्त्रमा बिचौलियाको प्रभाव अत्यधिक बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । परम्परागत राजनीतिक दल र तिनका नेतृत्व जवाफदेही नहुँदा देश बिचौलियाको हातमा पुगेको उनको आरोप थियो ।
सरकारका मानिस भन्दै बिचौलियाहरूले देशका सबै क्षेत्र कब्जा गरेको र सरकार यसप्रति मौन रहेको उनले दाबी गरे ।
नीति निर्माणदेखि कार्यान्वयनसम्म सीमित स्वार्थ समूहको हस्तक्षेप बढ्दा वास्तविक श्रमजीवी जनता मारमा परेको उनको तर्क थियो ।
‘म श्रम गर्नकै लागि देशका विकट ठाउँमा पुगिरहेको छु, सरकार भने राजधानीका सुविधा सम्पन्न होटलमा बिचौलियाहरूसँग व्यस्त छ,’ उनले सरकारप्रति व्यंग्य गर्दै भने ।
अध्यक्ष राईले आगामी दिनमा श्रम संस्कृति पार्टी कुनै पनि शक्तिसँग गठबन्धन नगरी स्वतन्त्र रूपमा राष्ट्रिय विकल्प प्रस्तुत गर्ने दाबीसमेत गरे ।





