झापा । कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।

यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्दछन् । व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

आषाढ शुक्ल एकादशी (हरिशयनी)का दिनबाट चार महिनाको लागि सुतेका विष्णु भगवान् आजकै दिन अर्थात कार्तिक शुक्ल एकादशी(हरिबोधनी)का दिन योगनिद्राबाट जाग्छन् भन्ने विश्वास रहेको छ । भगवान् विष्णु योग निन्द्राबाट उठेको दिन भएकोले आजको दिनलाई देवउठनी पनि भनिन्छ । विष्णु क्षीर सागरमा सुतेका बेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यताको आधारमा चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश तथा अन्य शुभ कार्यहरू गरिँदैन । आजको दिन पछि भने माङ्गलिक कार्यको लागि शुभ मुहूर्त रहेको पाइन्छ ।

चारमहिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आज मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रूप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतीकको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

दिवङ्गत भएका पितृको नाममा आज खोलामा फूल तार्ने पनि प्रचलन रहेको छ । हातमा फूल लिएर पितृभ्य स्वधा नमः मन्त्रको उच्चारण गरी यस एकादशी व्रतको पुण्य मेरो पितृहरूलाई समर्पित गर्दछु भन्नुपर्दछ । यसरी फूल तारेर पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल पितृहरूलाई प्राप्त हुन्छ र पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि र आशीर्वाद दिन्छन् भनी शास्त्रमा वर्णन गरिएको छ । विवाहादि समस्त माङ्गलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर सङ्कल्प गर्ने चलन रहेको छ । अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबन्ध हरिप्रवोधिनी (देवोत्थान) एकादशीका दिन समाप्त हुन्छ । त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनःप्रारम्भ हुन्छ।