झापा । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाबाट बेपत्ता भएका तीन किशोरीलाई झापाको बिर्तामोडबाट प्रहरीले उद्धार गरेको छ । परिवारको सम्पर्कबाहिर रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले नयाँ बसपार्क क्षेत्रबाट फेला पारेको हो।
प्रहरीका अनुसार मंसिर ३ गते सिरिजङ्घा गाउँपालिका–७ फरेका १६ वर्षीया तुममाया लिम्बू (आइस्मा), उनकी १३ वर्षीया बहिनी मुनुलुङ लिम्बू र सोही ठाउँका बिरहाङ लिम्बूकी १६ वर्षीया छोरी बिनु लिम्बू घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए ।
परिवार र आफन्तले आफन्तजन तथा नातागोतामा खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेन। किशोरीहरू बिर्तामोड आसपासमा हुन सक्ने आशंकामा आफन्तले शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा खोजीका लागि निवेदन दिएका थिए।
निवेदनसँगै किशोरीहरूको हुलिया प्राप्त भएपछि प्रहरी निरीक्षक मनिष लुइँटेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। आफन्तसँग समन्वय गरेर खोजी तीव्र पारेको प्रहरीले आइतबार बिहान ९ बजेर २५ मिनेटमा बिर्तामोडको नयाँ बसपार्कबाट उनीहरूलाई फेला पारेको हो।
प्रहरीका अनुसार किशोरीहरू शंकास्पद अवस्थामा फेला परेका थिएनन्। आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।




